पोखरा । कास्कीमा यसवर्ष धानको उत्पादन बढ्ने आकलन गरिएको छ । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाका अनुसार यसवर्ष मौसम अनुकुल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले विगतमा भन्दा उत्पादन बढ्ने आँकलन गरिएको हो । वर्खा राम्रोसँग भएकोले सिंचाइको सुविधा नभएको ठाउँमा समते पानी पुगेको उनको भनाइ छ । उनका अनुसार यसवर्ष पोखरामा लगाइएका धानमा रोग किराहरू देखिएको गुनासो गरिएको छैन ।
पोखरामा ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । उक्त क्षेत्रफलमा विगतका वर्षहरूमा झण्डै ३८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको थियो । पोखराको झण्डै ५० प्रतिशत खेतीयोग्य क्षेत्रमा जेठोबुढो धान खेती गरिन्छ । बाँकी जमिनमा पहेँले, झिनुवा लगायत स्थानीय प्रजातिका धान र उन्नत जातका धानखेती गरिन्छ ।
फेवाफाँट, कुँडहर, विरौटा, हेमजा, खराने, आर्वा, अर्मला, पटनेरी, सिसुवा, सुरौदी, गगनगौँडालगायत फाटमा धानखेती हुने गर्छ । यी मध्ये आधाजस्तो ठाउँमा धान काटिसकिएको छ भने कतिपय ठाउँमा धान हरियो नै छ । विशेषगरी जेठोबुढो लगायतका धान काट्न बाँकी रहेको छ ।
महाशाखा प्रमुख कडरियाले मौसम पूर्वानुमान महाशाखाले भने अनुसारको अर्नब आधिको केही प्रभाव यहाँ पनि देखिन थालेकोले धानबाली भित्राउँदा ध्यान दिन आग्रह गरे । काट्न बाँकी धानलाई मौसमको ख्याल गरेर मात्र काट्न उनको सुझाब छ।
उनले विशेषगरी जेठोबुढो धान हरियो नै रहेकाले पानी पर्दा ढल्ने सम्भावना हुने बताउँदै त्यसबारे सचेत हुन कृषकलाई अनुरोध गरे । खेतबाट पानी काट्न र सुख्खा बनाउदै लैजान आग्रह गर्दै यसले धान छिप्पिनका लागि सहयोग पुग्ने उनको भनाई छ । धानबालीको नियमित अवलोकन गर्न समेत उनको सुझाब छ ।
















