पोखरा । पोखरामा नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रदेशस्तरीय पुष्प मेला एवं तेस्रो सयपत्री फूल मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा बुधबारदेखि पोखरा रंगशालामा मेला सुरु भएको हो ।

मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।
उहाँले पुष्प व्यवसायलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजारको प्रवर्द्धनमा लाग्न पुष्प कृषक र व्यवसायीलाई सुझाव दिए । “पोखरामा पुष्पजन्य उत्पादनको पर्याप्त सम्भावना छ । स्थानीय उत्पादन वृद्धि गर्दै फूलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्छ । उत्पादनको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा समेत ध्यान दिन आवश्यक छ,” नगर प्रमुख आचार्यले भने ।

उनका अनुसार पोखरा महानगरपालिका क्षेत्रमा करिब २०० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन र कृषकको आम्दानी वृद्धि गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।

कार्तिक २३ गतेसम्म सञ्चालन हुने मेलाले पुष्प व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र फूल खेतीप्रति सर्वसाधारणको आकर्षण बढाउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान’ भन्ने मूल नाराका साथ आयोजित मेलामा २७ वटा स्टल राखिएका छन् । मेलामा विशेषगरी तिहारलाई लक्षित गरी गोदावरी तथा सयपत्री फूलको प्रदर्शनी र बिक्रीलाई प्राथमिकता दिइएको छ ।

फ्यान कास्कीका अध्यक्ष एवं मेला संयोजक रामप्रसाद सुवेदीले पुष्प व्यवसायीलाई प्रोत्साहन गर्ने, स्थानीयस्तरमा उत्पादित फूलको बजार विस्तार गर्ने र फूलप्रेमीलाई एउटै स्थानमा विभिन्न प्रजातिका फूल अवलोकन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए । उनका अनुसार मेलामा फूलका पारखी तथा सर्वसाधारणको सहभागिताले व्यवसायीको मनोबल बढाउनुका साथै पुष्प व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष सुवेदीका अनुसार फ्यान कास्कीमा कट फ्लावर तथा नर्सरी क्षेत्रका ४८ जना व्यवसायी आबद्ध छन् । कास्कीका अतिरिक्त स्याङ्जा, तनहुँ र बागलुङका व्यवसायीसमेत पुष्प व्यवसायमा संलग्न छन् । तिहारको समयमा सयपत्री र मखमली फूलका माला तथा घरआँगन सजावटका लागि गोदावरी फूलको माग बढ्ने भएकाले मेलाले स्थानीय उत्पादनको बिक्री तथा बजारीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घरआँगन तथा बगैँचा सजाउन रुचि राख्ने र फूल खेतीसम्बन्धी ज्ञान हासिल गर्न इच्छुक सर्वसाधारणका लागि मेला उपयोगी हुने आयोजकको विश्वास छ । फ्यान कास्कीका सचिव खिमलाल सुवेदीका अनुसार मेलामा करिब २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेलाको उद्घाटनका अवसरमा उत्कृष्ट नर्सरीहरूलाई पुरस्कृतसमेत गरिएको छ । प्रतियोगितामा गार्डेन नर्सरी प्रथम, पवित्र हिमालयन फ्लावर नर्सरी द्वितीय र केबलकार मनकामना नर्सरी तृतीय भएका छन् ।

उद्घाटन समारोहमा गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव प्रेरणा सेढाईं भट्टराई, पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम तथा पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनहर कडरियालगायतले पुष्प व्यवसायको सम्भावना र प्रवर्द्धनका विषयमा धारणा राखेका थिए ।

मेलाले तिहारका लागि आवश्यक फूलको स्थानीय उत्पादन तथा बजार प्रवर्द्धन गर्नुका साथै पोखरामा पुष्प संस्कृतिको विकास र व्यावसायिक फूल खेती विस्तारमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0