पोखरा । पोखरा महानगरपालिका–२४ बास्कोटमा शहरी स्वास्थ्य केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ । स्थानीय नागरिकलाई घरआँगनमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको केन्द्रको बुधबार महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै प्रमुख आचार्यले बास्कोटस्थित शहरी स्वास्थ्य केन्द्र पोखरा महानगरपालिकाको ५३औँ स्वास्थ्यसम्बन्धी संस्था भएको जानकारी दिए । महानगरका ३३ वटै वडामा यसअघि शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य केन्द्र तथा शिशुवा अस्पतालसहित ५२ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेको उनले बताए ।
पोखरा–२४ लगायत छिमेकी वडा नं। २३ र १८ मा पछिल्लो समय जनसंख्या तथा बस्ती विस्तार हुँदै गएको र माथिल्लो क्षेत्रबाट तल्लो क्षेत्रमा बसाइँ सर्ने क्रम बढेको भन्दै उनले स्थानीय आवश्यकतालाई मध्यनजर गरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
सुरुमा करिब चार करोड रुपैयाँ लागतमा भवन निर्माण गर्ने अनुमान गरिएको भए पनि जग्गाको सीमितताका कारण संशोधित योजनाअनुसार दुई करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न गरिएको आचार्यले जानकारी दिए । आगामी दिनमा केन्द्रलाई स्तरोन्नति गर्दै स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
प्रमुख आचार्यले पोखरा–२४ सहित पञ्चासे क्षेत्रको समग्र विकासलाई महानगरले प्राथमिकतामा राखेको बताए । पञ्चासेमा विश्वमै विशिष्ट पहिचान बोकेका वातावरणीय तथा पर्यावरणीय विशेषता रहेकाले यस क्षेत्रलाई अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा समेत विकास गर्न सकिने उनले उल्लेख गरे ।
धार्मिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको पञ्चासेको विकासका लागि एसियाली विकास बैंकको साझेदारीमा दुईवटा सडक परियोजना अघि बढाइएको उनले जानकारी दिए ।
उनका अनुसार एक अर्ब ३० करोड रुपैयाँ लागतको घाटीछिना–पञ्चासे सडक र एक अर्ब ५२ करोड रुपैयाँ लागतको हल्लनचोक–घाटीछिना सडक परियोजना हालै ठेक्का प्रक्रियामा गएको छ । परियोजना सम्पन्न भएपछि दुवै सडक खण्डमा दुई लेनको स्तरीय सडक निर्माण हुने उनले बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्वास्थ्य पूर्वाधार निर्माणले यस क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने विश्वास व्यक्त गरे ।
नेपालको संविधानको धारा ३५ ले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले बास्कोट र आसपासका नागरिकले आफ्नै घरआँगनबाट उक्त अधिकार उपभोग गर्ने अवसर पाएको बताए । विकासलाई सडक र पुल निर्माणमा मात्रै सीमित गर्न नहुने भन्दै उनले स्वास्थ्य क्षेत्र पनि विकासको महत्वपूर्ण आधार भएको धारणा राखे ।
पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सामान्य बिरामी हुँदा सिटामोल लिन तथा रक्तचाप जाँच गराउनसमेत पोखरा बजार वा बाम्दी पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यले केन्द्र निर्माण गरिएको बताए ।शहरी स्वास्थ्य केन्द्रलाई आगामी दिनमा स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा स्तरोन्नति गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि महानगर प्रमुख आचार्यको सहयोग र साथ रहेको बताए । आफ्नो कार्यकालमा वडाभित्र सडक, खानेपानीलगायतका पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण काम भएको दाबीसमेत उनले गरे ।
कार्यक्रममा समाजसेवी डा।यामनाथ तिमिल्सिना, वडा सदस्य रेशम सुवेदीलगायतले स्वास्थ्य केन्द्र सञ्चालनले स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने धारणा राखेका थिए ।
पोखरा–२४ शहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रितम थापाले स्वागत मन्तव्य राखेको कार्यक्रम वडा सचिव इन्द्र जिसीले सञ्चालन गरेका थिए । कार्यक्रममा स्थानीयवासीले बाजागाजा र फूलमालासहित महानगर प्रमुख आचार्यलाई स्वागत गरेका थिए ।















