पोखरामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु, ३० हजारभन्दा बढी बालबालिका लाभान्वित हुने
पोखरा । पोखरा महानगरपालिकामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सुरु भएको छ। महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले मंगलबार पोखरा महानगरपालिका वडा नं। ८ स्थित केन्द्रबाट अभियानको शुभारम्भ गरेका हुन्।
बुधबारसम्म सञ्चालन हुने अभियानअन्तर्गत महानगर क्षेत्रका ३० हजार ८ सयभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने नगर प्रमुख आचार्यले जानकारी दिए।
६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।
बालबालिकामा भिटामिन ‘ए’ को कमीबाट हुन सक्ने स्वास्थ्य समस्या रोकथाम तथा जुकाको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको नगर प्रमुख आचार्यले बताए। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले निर्धारण गरेका मापदण्डअनुसार नेपाल सरकारले हरेक वर्ष राष्ट्रिय भिटामिन कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ।
उनले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरे।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बालबालिकाको स्वस्थ विकास, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा पोषण सुधारका लागि राष्ट्रिय भिटामिन कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। भिटामिन ‘ए’ ले रोग प्रतिरोधात्मक क्षमता, छालाको स्वास्थ्यलगायत विभिन्न शारीरिक प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले बालस्वास्थ्य सुधारमा अभियानले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अभियान सफल बनाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको भन्दै पौडेलले अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको योगदानको प्रशंसा गरे।
पोखरा महानगरपालिका वडा नं। ८ का वडाध्यक्ष रुद्रनाथ बरालले अभियान सुरु हुनुअघि नै महिला स्वास्थ्य स्वयंसेविकाहरू घरघरमा पुगेर अभिभावकलाई सचेत गराएको जानकारी दिए। उनले आफ्ना बालबालिकासँगै छिमेकका बालबालिकालाई समेत अभियानमा सहभागी गराउन वडावासीलाई आग्रह गरे।
महानगरपालिकाले अभियान सञ्चालनका लागि सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरेको छ। महानगरभित्रका स्वास्थ्य संस्था र तोकिएका वितरण केन्द्रबाट बालबालिकालाई औषधि खुवाउने व्यवस्था मिलाइएको छ। कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले गरेका थिए। पोखराका अलावा यो अभियानलाई नेपाल सरकारले कार्तिक १७ र १८ गते देशैभर सञ्चालन गरिरहेको छ ।
















