पोखरा। अनलाइन माध्यमबाट बालबालिकामाथि हुने यौन दुर्व्यवहार, हिंसा तथा साइबर अपराध नियन्त्रणका लागि इन्टरनेट सेवा प्रदायक संस्थाहरूको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ ।
भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा मंगलबार पोखराको न्युरोडमा आयोजित ‘अनलाइन बालसुरक्षासम्बन्धी इन्टरनेट सेवा प्रदायकहरूको भूमिका’ विषयक कार्यशालामा बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन सेवा प्रदायक संस्थाहरू थप जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिइएको हो ।
कार्यशालामा इन्टरनेट सेवा प्रदायकहरूले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को अनलाइन बाल सुुरक्षा निर्देशिका, २०७६ अनुसार निर्वाह गर्नुपर्ने भूमिका, इन्टरनेट सेवाका कारण बालबालिकामा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभाव र अनलाइन जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल टेलिकमको आईटी शाखाका इन्जिनियर प्रवेश सुवेदीले सहजीकरण गरेका थिए । उनले इन्टरनेट सेवा प्रदायकहरूको बालसुरक्षासम्बन्धी जिम्मेवारी तथा अनलाइन जोखिम न्यूनीकरणका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

कार्यशालामा पाेखराका विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले अनलाइन माध्यमबाट बालबालिकामाथि हुन सक्ने दुर्व्यवहार रोकथाम तथा बालसुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन आफ्नो भूमिका र जिम्मेवारीबारे छलफल गरेका थिए ।
भ्वाइस अफ चिल्ड्रेनकी प्रोजेक्ट अफिसर अप्सरा गुरुङले बालबालिकामाथि हुने अनलाइन यौन दुर्व्यवहार तथा साइबर अपराधका घटनाहरू रोकथाम गर्न संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
उनले जोखिममा रहेका बालबालिका तथा परिवारको संरक्षण, उद्धार, पुनःस्थापना र सशक्तीकरणका लागि संस्थाले काम गर्दै आएको बताउँदै अनलाइन बालसुरक्षाका विषयमा इन्टरनेट सेवा प्रदायकहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिन् ।
भ्वाइस अफ चिल्ड्रेनले बालबालिकाको अधिकार संरक्षण, साइबर अपराध रोकथाम तथा अनलाइन सुरक्षासम्बन्धी सचेतना अभिवृद्धिका लागि बागमती, कोशी र गण्डकी प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
















