पोखरा। हेमजा साहित्य प्रतिष्ठानले आयोजना गर्न लागेको दोस्रो संस्करणको साहित्य महोत्सवलाई सफल बनाउन पोखराका साहित्यिक संघसंस्थाले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। महोत्सवलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन उनीहरूले विभिन्न रचनात्मक सुझावसमेत दिएका छन्।

मंगलबार गण्डकी प्रज्ञा प्रतिष्ठानमा हेमजा साहित्य प्रतिष्ठानले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थामा आबद्ध साहित्यकारहरूले महोत्सवलाई साझा साहित्यिक उत्सवका रूपमा अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले साहित्यिक गतिविधि र महोत्सवले पोखरासहित समग्र गण्डकी प्रदेशको साहित्यिक क्षेत्रलाई थप सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले महोत्सव सफल बनाउन आफ्नो तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाए।

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले हेमजा साहित्य महोत्सव कुनै एउटा संस्थाको मात्र कार्यक्रम नभई पोखरामा क्रियाशील सम्पूर्ण वाङ्मयिक संस्थाको साझा कार्यक्रम भएको बताइन्। महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै उनले पहिलो संस्करणका सबल र कमजोर पक्षको समीक्षा गरेर दोस्रो संस्करणलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिइन्।

तयारीका क्रममा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले महोत्सवका सत्र  प्रभावकारी भए कार्यक्रम आफैँ सफल हुने बताइन्। दर्शक तथा श्रोताको संख्याभन्दा उनीहरूको गुणस्तर र सहभागिताको प्रभावकारितालाई प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो।

छलफलबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै महोत्सवलाई विशेष बनाउने तयारी भइरहेको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले बताए। उनले तीनवटा सत्रलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए। ती सत्रलाई प्रभावकारी बनाउन वक्ता छनोटदेखि विषयवस्तुसम्ममा सूक्ष्म ढंगले काम भइरहेको उनको भनाइ थियो। महोत्सवका सत्रबारे विस्तृत जानकारी केही दिनभित्र सार्वजनिक गरिने उनले बताए।

महोत्सवको तयारीलाई तीव्रता दिने क्रममा टोल विकास संस्था र आमा समूहसँग समेत छलफल गरिएको अध्यक्ष गायकले जानकारी दिए। मंगलबारको छलफल तेस्रो चरणको भएको उल्लेख गर्दै उनले सरोकारवाला निकायसँगको संवादलाई निरन्तरता दिइने बताए। महोत्सवको प्रचारप्रसारमा डिजिटल प्रविधिको प्रयोग गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए।

प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायले महोत्सवमा ४५ जिल्लाको प्रतिनिधित्व रहने जानकारी दिए। हेमजालाई ‘काव्य नगरी’का रूपमा विकास गर्ने अभियानमा साहित्य महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने बताए।

हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा दोस्रो संस्करणको साहित्य महोत्सव आगामी मंसिर ५ र ६ गते हेमजामा आयोजना हुँदैछ। महोत्सवमार्फत साहित्यिक विमर्श, सिर्जना र साहित्यकारबीचको अन्तरसम्बन्धलाई विस्तार गर्दै हेमजाको साहित्यिक पहिचान स्थापित गर्ने आयोजकको याेजना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0