पोखरा । गन्धर्व समुदायको मौलिक कला, संगीत र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामाझ चिनाउने उद्देश्यसहित पोखरामा आइतबार ‘गन्धर्व गुञ्जन’ कार्यक्रम सम्पन्न भएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सारङ्गीका धुनसँगै गन्धर्व समुदायको परम्परागत सांगीतिक विरासत पोखरामा गुञ्जिएको थियो । कार्यक्रममा सारङ्गीको धुन, लोकभाका र परम्परागत सांस्कृतिक प्रस्तुतिमार्फत गन्धर्व समुदायको मौलिक पहिचान उजागर गरिएको थियो । आधुनिक संगीतको प्रभावसँगै ओझेलमा पर्दै गएको गन्धर्व समुदायको सांगीतिक परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन उनले गन्धर्व समुदायका चर्चित स्रष्टा झलकमान गन्धर्वको गीत गाएर गरेका थिए । झलकमानका गीत र सारङ्गीको धुनले नेपाली लोकसंगीतमा गन्धर्व समुदायको योगदानलाई स्मरण गराएको थियो । सारङ्गीलाई पोखराको बिम्बको रुपमा महानगरले प्रस्तुत गरिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा मंगल धुन, भजन, निर्गुण, कर्खा, रत्यौली, लोकगीत, तरबार नाच तथा मौलिक गीतसंगीतका विविध प्रस्तुति राखिएका थिए । परम्परागत धुनदेखि लोकसंस्कृतिसँग जोडिएका सांगीतिक तथा नृत्य प्रस्तुतिसम्म समेटिएको कार्यक्रममा ८९ जना कलाकारले प्रस्तुति दिएको प्रतिष्ठानका सदस्यसचिव जीवन दाहालले जानकारी दिए ।

कार्यक्रमको पहिलो सत्रमा ‘कथा सारङ्गी’ विषयमा वैचारिक मन्थन गरिएको थियो । यस सत्रमा सारङ्गीको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वका साथै गन्धर्व समुदायको जीवनशैली र लोकसंगीतसँगको सम्बन्धबारे चर्चा गरिएको थियो । दोस्रो सत्रमा सांगीतिक प्रस्तुति राखिएको थियो, जसले गन्धर्व संस्कृतिका विविध पक्षलाई एउटै मञ्चमा प्रस्तुत गरेको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल गन्धर्व विशिष्ट प्रतिभाको संयोजन भएको बताए ।
पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाले कला, संगीत, इतिहास र सांस्कृतिक पहिचानको संरक्षण, पुस्तान्तरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । मौलिक सांस्कृतिक सम्पदालाई केवल विगतको सम्झनामा सीमित नराखी वर्तमान पुस्तासँग जोड्नु आवश्यक रहेको उनको भनाइ थियो । सबैको साथ प्रति उनले आभार व्यक्त गरिन् ।

गन्धर्व समुदाय परम्परागत रूपमा सारङ्गी बजाउँदै लोकगीतमार्फत समाजका घटना, इतिहास, जनजीवन र भावनालाई अभिव्यक्त गर्ने समुदायका रूपमा परिचित छ । उनीहरूको सांगीतिक परम्पराले नेपाली लोकसंस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । तर, बदलिँदो सामाजिक परिवेश र सांगीतिक रुचिका कारण यस्ता मौलिक परम्पराको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ । ‘गन्धर्व गुञ्जन’ जस्ता कार्यक्रमले गन्धर्व समुदायका कलाकारलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर दिनुका साथै नयाँ पुस्तालाई मौलिक संगीतको महत्व बुझाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
















