पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो औचित्य काम र उपलब्धिमार्फत पुष्टि गर्नुपर्ने बताएका छन्। प्रतिष्ठानले प्रदेशवासीले अनुभूति गर्ने गरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउनुपर्नेमा उनले जोड दिएका छन्।

गण्डकी प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभाको दसौँ बैठकको शुक्रबार उद्घाटन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशस्तरमा गठन भएका प्राज्ञिक संरचनाको आवश्यकता र औचित्यबारे उठ्ने प्रश्नको जवाफ कामबाटै दिनुपर्ने बताए।

संघीय संरचनामा संघमा रहेका संस्थाजस्तै प्रदेशमा पनि त्यस्ता संरचना आवश्यक छन् कि छैनन् र तिनले व्यवस्थापनमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा बहस हुनु स्वाभाविक रहेको उनको भनाइ थियो। त्यसैले प्रतिष्ठानले आफ्नो कार्यसम्पादन र प्रदेशवासीले प्राप्त गर्ने उपलब्धिमार्फत यसको आवश्यकता प्रमाणित गर्नुपर्ने उनले बताए।

विभिन्न विधा समेटेर प्रतिष्ठान गठन भएकाले सबै क्षेत्रलाई समेट्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले संघीय एकेडेमीबाट मात्रै सम्भव नहुने कतिपय काम प्रदेशको प्रतिष्ठानबाट सम्भव भएको अनुभूति नागरिकलाई गराउनुपर्ने बताए। क्रमशः लोप हुँदै गएका परम्परागत भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण गरी पुनर्जीवन दिनुपर्नेमा पनि उनले जोड दिए।

गण्डकी प्रदेशमा आउने स्वदेशी तथा विदेशी पर्यटकसमक्ष यहाँको मौलिक कला, संस्कृति र परम्परा प्रस्तुत गर्ने खालका कार्यक्रम सञ्चालन गर्न उनले प्रतिष्ठानलाई आग्रह गरे। प्रतिष्ठानलाई आवश्यक पर्ने थप बजेटको व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको पनि उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रतिष्ठानकी संरक्षक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन प्रतिष्ठानको महत्वपूर्ण प्राज्ञिक अभियान भएको बताइन्। भाषा पहिचान, संस्कृति सभ्यता र साहित्य समाजको चेतना भएको उल्लेख गर्दै यसको संरक्षण औपचारिक दायित्व मात्रै नभई भावी पुस्ताप्रतिको ऐतिहासिक जिम्मेवारीसमेत भएको उनको भनाइ थियो।

गण्डकी प्रदेशको बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मौलिकतालाई अनुसन्धान, अभिलेखीकरण र सिर्जनामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउन प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने मन्त्री गुरुङले बताइन्। प्रतिष्ठानका कार्ययोजना उपलब्धिमूलक, अनुसन्धानमा आधारित र दीर्घकालीन प्रभाव पार्ने खालका हुनुपर्नेमा जोड दिँदै उनले यस अभियानमा आवश्यक सहयोग, सहकार्य र नीतिगत प्रतिबद्धतासहित प्रदेश सरकार साथमा रहने बताइन्। संस्कृति जोगाउनु मात्रै नभई त्यसको गौरवलाई पुस्तौँसम्म जीवन्त राख्नु प्रतिष्ठानको उद्देश्य हुनुपर्ने उनको भनाइ थियो।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले प्रतिष्ठानका गतिविधि र सक्रियता प्रशंसनीय रहेको बताए। तोकिएको जिम्मेवारी र रचनात्मक कार्यक्रम मितव्ययी ढंगले सञ्चालन भइरहेको उल्लेख गर्दै उनले सबैको प्रयासबाट वार्षिक कार्ययोजनाले सार्थकता पाउने विश्वास व्यक्त गरे।

प्रतिष्ठानमा पदाधिकारी नियुक्ति नहुँदा बजेट व्यवस्थापनका क्रममा केही समस्या भएको खुलाउँदै सचिव पौडेलले प्रतिष्ठानको सक्रियता र इमानदारितालाई ध्यानमा राखेर आवश्यक बजेट थप गर्नुपर्ने अवस्था रहेको बताए।

प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले आफूहरू कुनै स्वार्थ नराखी संस्थाको हितमा काम गरिरहेको उल्लेख गर्दै चारवर्षे कार्यकाललाई सुन्दर र उपलब्धिमूलक बनाउने लक्ष्य रहेको बताए। पछिल्लो चार महिनामा भएका गतिविधिले आफूहरूलाई उत्साहित बनाएको बताउँदै उनले ऊर्जाशील युवा र अनुभवी प्रौढ पुस्ताको मिश्रित सहभागिताले प्रतिष्ठानको काममा सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा गण्डकी विश्वविद्यालयका प्रा.डा. इन्द्रप्रसाद तिवारी, प्रतिष्ठानका पूर्वकुलपति सूर्य खड्का बिखर्ची, पूर्वउपकुलपति गोरे गुरुङ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डिबी गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षा तथा साहित्यकार डा. ईश्वरमणि अधिकारीलगायतले मन्तव्य राखेका थिए।

बैठकमा चालु आर्थिक वर्षमा प्रतिष्ठानबाट सम्पन्न भएका गतिविधिको समीक्षा गर्नुका साथै यस वर्ष सञ्चालन गरिने कार्यक्रम तथा कार्ययोजना प्रस्तुत गरिएको थियो। शनिबारसम्म सञ्चालन हुने बैठकले कार्ययोजना अनुमोदन गरेपछि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रियता बढाउने प्रतिष्ठानले जनाएको छ।

बैठकको उद्घाटन सत्रमा उपकुलपति शंकर विरही गुरुङले स्वागत गरेका थिए भने सञ्चालन सदस्यसचिव मनकुमार श्रेष्ठले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0