पोखरा ९ मंसिर । लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवार र समाजबाटै अभियान सुरु गर्नुपर्नेमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले जोड दिएकी छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बुधबार पोखरामा आयोजित प्रभातफेरी र्‍यालीको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले हिंसा अन्त्यका लागि प्रत्येक व्यक्ति जिम्मेवार बन्नुपर्ने बताइन् । आफूलाई समस्या पर्दा मात्रै पीडितको पक्षमा उभिने तर अरूलाई हिंसा हुँदा मुकदर्शक बनेर बस्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समिति गण्डकी प्रदेशकी संयोजकसमेत रहेकी मन्त्री गुरुङले अभियानलाई प्रभावकारी बनाउन सबै पक्षलाई सक्रिय सहभागिताका लागि आग्रह गरिन् ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता ः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित प्रभातफेरी निकालिएको हो । राष्ट्र बैंक चोकबाट सुरु भएको ¥याली ड्यामसाइड हुँदै बिरौटा चोकमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा। शेषनारायण पौडेलले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । हिंसा पीडितलाई न्याय र संरक्षण प्रदान गर्नुका साथै हिंसामा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डहीनताको अन्त्य गर्नु अभियानको प्रमुख उद्देश्य रहेको उनले स्पष्ट पारे ।

मन्त्रालयकी महिला विकास अधिकृत देवी शर्माले लैङ्गिक हिंसा अन्त्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा १६ दिने अभियान सञ्चालन हुँदै आएको जानकारी दिइन् । उनले अभियानको सुरुवात र यसको महत्वबारे चर्चा गर्दै पछिल्लो समय हिंसाका स्वरूप परिवर्तन हुँदै गएको बताइन् । यस्ता अभियानले समाजमा सचेतना अभिवृद्धि गर्दै हिंसाका घटनामा कमी ल्याउन सहयोग पुग्ने उनको विश्वास थियो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारीलगायतले लैङ्गिक हिंसा अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए ।

प्रभातफेरीमा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो । अभियानले लैङ्गिक हिंसाविरुद्ध सामाजिक ऐक्यबद्धता कायम गर्दै पीडितको संरक्षण, न्यायमा पहुँच र हिंसामुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ । बुधबारबाट सुरु भएको १६ दिने अभियान १० डिसेम्बरसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0