पोखरा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मङ्गलबार पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ। भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा दही जात्रा हुँदै आएको छ। गुप्तकाली काश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा दहीको होलीमा ठूलो संख्यामा मानिसहरूको सहभागिता रहेको थियो। सांस्कृतिक रुपमा मनाउँदै आएको यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएका छन् ।

दहीको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको भन्दै यो दहीको होली कास्कीकोटमा मात्र रहेको धार्मिक क्षेत्रविकास समितिका सचिव तथा कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले दावी गरे।

यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजा सहित जात्रा निकालिएको थियो। अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिलेदेखिनै नाचगान तथा जात्राहरू निकाल्ने गरिन्छ तर, कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मे पछि मात्र भोलि पल्ट दहीको होली  खेलेर पर्व मनाउने गरिएको त्रिपाठीले बताए ।

विगत १२ वर्ष देखि दही जात्रालाई स्थानीयले दहीको होली एक आपसमा छेपेर मनाउने गरेका छन्। मन्दिरका व्यवस्थापक अमाली खिम बहादुर कार्कीका अनुसार जात्रामा अन्य सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो।

दहिजात्रा विगत देखि सम्पदा संरक्षण मञ्च कास्कीकोट ,नेपाल वृन्दावनधाम र स्थानीयले सञ्चालन गर्दे आएका छन्। आगामी वर्षहरूमा कास्कीकोटको उच्च भागमा रहेको औलधाममा गएर जात्रा समापन हुने भएको नेपाल वृन्दावन धाम कास्कीका  अध्यक्ष ओम प्रसाद सुवेदीले जानकारी दिए । दही जात्रामा भजन चुट्का तथा विभिन्न झाँकी बाजागाजा सहित जात्रा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0