पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडमा ४० करोड रुपैयाँको लगानीमा अत्याधुनिक मनोरञ्जन केन्द्र ‘क्लब भोल्कानो’ सञ्चालनमा आउने भएको छ। विशाल अर्बन भेन्चर्सको लगानीमा निर्माण हुन लागेको भोल्कानो कम्प्लेक्स तथा क्लबलाई मनोरञ्जन, खानपान र सपिङको एकीकृत गन्तव्यका रूपमा विकास गर्न लागिएको हो।
कम्प्लेक्स तथा क्लबको औपचारिक शुभारम्भ घोषणा र भूमि पूजा कार्यक्रम शनिबार सम्पन्न भएको छ। विशाल श्रेष्ठ, विशाल थापा र विशाल तुलाचनको संयुक्त लगानीमा निर्माण हुन लागेको परियोजनालाई आगामी दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
विशाल अर्बन भेन्चर्सका अध्यक्ष विशाल श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रिमियम क्लब सञ्चालन गर्ने उद्देश्यसहित परियोजनाको काम अघि बढाइएको बताए। उनका अनुसार १८ वर्षमाथिका युवादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गरी क्लब सञ्चालन गरिनेछ।
पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पारिवारिक वातावरणमा मनोरञ्जन र आतिथ्य सेवासहितको सुविधा उपलब्ध गराइने श्रेष्ठले जानकारी दिए। विशेषगरी ट्रेकिङ तथा पदयात्राबाट फर्किएका पर्यटक र मनोरञ्जनको खोजीमा रहेका आगन्तुकलाई लक्षित गरिएको उनको भनाइ छ।

पछिल्लो समय पोखरामा भारतीय पर्यटकको आगमनसमेत बढ्दै गएकाले क्लब उनीहरूका लागि पनि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको श्रेष्ठले बताए। उनले नेपाली तथा विदेशी पर्यटकको रुचि र आवश्यकतालाई ध्यानमा राखेर सेवा तथा सुविधाको व्यवस्था गरिने उल्लेख गरे।
भोल्कानो कम्प्लेक्समा फुड प्लाजा, विभिन्न क्लोथिङ ब्रान्डका स्टोर, कफी सप, रिसेप्सन एरिया तथा रूफटप रेस्टुरेन्टलगायतका सुविधा रहनेछन्। एउटै परिसरबाट खानपान, सपिङ र मनोरञ्जनको अनुभव लिन सकिने गरी पूर्वाधार निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ।
लेकसाइड स्ट्रिट नम्बर १० नजिकै अवस्थित उक्त परियोजना १७ वर्षका लागि जग्गा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरिएको हो।
पर्यटकीय गतिविधि, होटल तथा रेस्टुरेन्ट व्यवसाय र मनोरञ्जन क्षेत्रलाई थप विस्तार गर्ने उद्देश्यसहित अघि बढाइएको यस परियोजनाले पोखराको पर्यटन बजारमा नयाँ व्यावसायिक सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।
















