पोखरा । नेपाली मौलिक लोकसंस्कृति तथा लोकदोहोरी गीतको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरामा अन्तर दोहोरी साँझ तथा खुला दोहोरी गीत प्रतियोगिता आयोजना हुने भएको छ।

गामबेंसी पोखरा रोधी क्लब प्रालिको आयोजनामा आगामी २०८३ साल मंसिर १ गतेदेखि ५ गतेसम्म पोखरा–६, लेकसाइडस्थित हलनचोकमा रहेको दोहोरी साँझकै हलमा प्रतियोगिता सञ्चालन हुन लागेको दोहोरी साँझ सञ्चालक तेज चालिसेले जानकारी दिए ।

दोहोरी गीतको मौलिकता जोगाउँदै नयाँ पुस्ताका कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै दोहोरी क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने समूहलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने समूहले नगद रु. ३० हजार, द्वितीय हुने समूहले रु. २० हजार, तृतीय हुने समूहले रु. १० हजार र सान्त्वना स्थान हासिल गर्ने समूहले रु. ६ हजारसहित कप तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा पोखराका विभिन्न दोहोरी साँझ तथा दोहोरी समूहहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले कम्तीमा १८ वटा समूहलाई प्रतियोगितामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ।

कार्यक्रम संयोजक सुमन खड्काले पछिल्लो समय मौलिक लोकदोहोरी गीत तथा दोहोरी प्रतियोगिताहरू आयोजना हुने क्रम घट्दै गएको र नयाँ प्रतिभाले आफ्नो क्षमता प्रदर्शन गर्ने पर्याप्त अवसर नपाइरहेको अवस्थामा यस प्रतियोगिताले दोहोरी क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतियोगितामार्फत अनुभवी तथा नवप्रतिभाशाली कलाकारबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै नेपाली लोकदोहोरीको मौलिकता, गरिमा र लोकप्रियतालाई थप उचाइमा पुर्‍याउने लक्ष्य आयोजकले लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0