पोखरा। कास्कीको हेमजालाई साहित्य, कला, संस्कृति र सिर्जनाको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘हेमजा साहित्य महोत्सव–२०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ। हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा यही मंसिर ५ र ६ गते पोखरा महानगरपालिका–२५, हेमजास्थित गौरीशंकर खेल मैदानमा महोत्सवको दोस्रो संस्करण सञ्चालन हुन लागेको हो।
महोत्सवलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजकले आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ। कार्यक्रमस्थल व्यवस्थापन, प्रचारप्रसार, अतिथि तथा स्रष्टाहरूको सहभागिता सुनिश्चित गर्ने, विभिन्न साहित्यिक सत्रको तयारी र व्यवस्थापकीय कामलाई अन्तिम रूप दिने कार्य भइरहेको प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायले जानाकारी दिए ।
आयोजकका अनुसार महोत्सवमा पाँच हजारभन्दा बढी साहित्यप्रेमी, स्रष्टा, साहित्यकार, कलाकार, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। साहित्यिक उत्सवमा मात्र सीमित नराखी हेमजाको मौलिक पहिचान, भाषा, संस्कृति, पर्यटन र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने साझा अभियानका रूपमा महोत्सवलाई अघि बढाइएको हो।
प्राज्ञ एवं महाकाव्यकार शङ्करमणि त्रिपाठी ‘छन्दमणि’को परिकल्पनामा वि.सं. २०८२ देखि सुरु भएको महोत्सवको पहिलो संस्करणको सफलतापछि प्रतिष्ठानले दोस्रो संस्करण आयोजना गर्न लागेको हो।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र साहित्यिक चेतनाले सम्पन्न हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा साहित्यिक पहिचान दिलाउनु महोत्सवको प्रमुख उद्देश्य रहेको प्रतिष्ठानका अध्यक्ष सुनील गायकले बताए। हेमजालाई ‘काव्यनगरी’का रूपमा स्थापित गर्ने अभियानलाई महोत्सवले थप ऊर्जा दिने विश्वास गरिएको उनले बताए।
महोत्सवमार्फत नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक सम्बन्ध विस्तार, स्थानीय प्रतिभाको पहिचान र सिर्जनशील वातावरण निर्माणलाई प्राथमिकता दिइएको छ। त्यसैगरी नयाँ पुस्तामा पठन संस्कृति, लेखन सीप र साहित्यिक अभिरुचिको विकास गर्ने तथा हेमजाको प्राकृतिक र सांस्कृतिक पर्यटनको सम्भावना उजागर गर्ने लक्ष्यसमेत राखिएको छ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा कविता, आख्यान, गजल, मुक्तक, गीत, बालसाहित्य, समालोचना, साहित्यिक विमर्श, स्रष्टा सम्मान तथा पुस्तक परिचर्चालगायतका कार्यक्रम समेटिएका छन्।
महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै ‘कविता : अनुभूति र अभिव्यक्ति’, ‘काव्यनगरी हेमजा : साहित्यिक पर्यटनको सम्भावना’ तथा ‘सारङ्गीको सङ्गीत : लोकसंस्कृतिको धुन’ लगायतका साहित्यिक तथा सांस्कृतिक सत्र सञ्चालन हुनेछन्।
त्यस्तै, दोस्रो दिन माटोमा सिर्जना, काव्यनगरी दर्शन, कवितादेखि आख्यान र गैरआख्यानसम्मका विषयमा विमर्श, मुक्तक वाचन, कविता वाचन, लघुकथा वाचन तथा गजल वाचनका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय कला, संस्कृति र मौलिकतालाई विशेष प्राथमिकता दिइनेछ। पोखरा तथा देशका विभिन्न स्थानमा क्रियाशील साहित्यिक, वाङ्मयिक र सांस्कृतिक संस्थाहरूको सहभागिताले महोत्सवलाई थप अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।
हेमजाको माटोमा सिर्जनाका फूल फुलाउने, साहित्यिक स्वर गुन्जाउने र काव्यनगरीको पहिचान देशविदेशसम्म फैलाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष गायकले बताए। महोत्सवलाई व्यापक सहभागितामूलक र उपलब्धिमूलक बनाउन साहित्यकार, स्रष्टा, साहित्यप्रेमी, स्थानीय संघसंस्था, व्यवसायी तथा सर्वसाधारण सबैलाई सहयोग र सहभागिताका लागि उनले आग्रह गरेका छन्।
आयोजकले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै साहित्य, कला र संस्कृतिप्रेमी सबैलाई मंसिर ५ र ६ गते हेमजामा उपस्थित भई महोत्सव सफल बनाउन आह्वान गरेको छ।
















