पोखरा । कास्की जिल्लामा कार्तिक महिनामा विभिन्न प्रकृतिका १०९ वटा आपराधिक मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उक्त अवधिमा विभिन्न अपराधमा संलग्न रहेको आरोपमा ११४ जना प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको कार्तिक महिनाको प्रगति विवरणअनुसार दर्ता भएका मुद्दामध्ये १८ वटा जघन्य तथा गम्भीर प्रकृतिका अपराध, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ६ वटा, आर्थिक अपराधसम्बन्धी १० वटा र अन्य प्रकृतिका ७५ वटा रहेका छन्।

प्रहरीले अपराध अनुसन्धान तथा नियन्त्रणसँगै शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक सचेतनाका कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।

फरार प्रतिवादीदेखि लागूऔषध कारोबारमा संलग्नसम्म पक्राउ

कार्तिक महिनामा प्रहरीले फैसला कार्यान्वयनतर्फ २३ जना फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउ पर्नेमा २२ जना पुरुष र एक महिला रहेका छन्। उनीहरूबाट ९ वर्ष २ महिना १७ दिन कैद सजाय कार्यान्वयन भएको छ भने ३५ लाख ६४ हजार ८६ रुपैयाँ बिगो रकम असुल गरिएको छ।

लागूऔषध नियन्त्रणतर्फ आठवटा मुद्दा दर्ता भएका छन्। प्रहरीले लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। बरामद लागूऔषधमा गाँजा, ब्राउनसुगर तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधिहरू रहेका छन्।

यसैगरी पोखरा महानगरपालिका–७ घारीपाटनबाट १४.२० ग्राम र पोखरा–१४ छिनेडाँडाबाट १६.७४ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई छुट्टाछुट्टै घटनामा आठ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यानका घटनामा पाँच जना पक्राउ

कार्तिक महिनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ मा भएको एक युवकको मृत्यु प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। २२ वर्षीय युवक आफ्नै घरनजिकै बारीमा मृत अवस्थामा फेला परेपछि अनुसन्धानका क्रममा पाँच जना पक्राउ परेका हुन्।

त्यस्तै, पोखरा महानगरपालिका–६ लेकसाइडमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको घटनामा अनुसन्धान गर्दै प्रहरीले शिशु फालेर फरार रहेकी १९ वर्षीया महिलालाई पक्राउ गरेको छ।

यसै अवधिमा कास्की जिल्ला कारागारबाट फरार भएका जन्मकैद सजाय भोगिरहेका कैदी सन्तोष भण्डारीलाई पोखरा–९ पृथ्वीचोकस्थित एक गेस्टहाउसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सामाजिक हिंसाका ४८ उजुरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सामाजिक हिंसाका ४८ वटा उजुरी प्रहरीमा परेका छन्। ती घटनामा ४८ जना पीडित र ५६ जना पीडक रहेको विवरणमा उल्लेख छ।

यसैगरी घरेलु हिंसाका ६ वटा घटना दर्ता भएका छन्। तीमध्ये दुईवटा घटनामा मिलापत्र गराइएको छ भने चारवटा घटना बाँकी रहेका छन्। सामाजिक हिंसाका सबैभन्दा धेरै घटना पोखरा महानगरपालिकामा र सबैभन्दा कम मादी गाउँपालिकामा भएको प्रहरीको तथ्यांक छ।

सडक दुर्घटनामा १० जनाको मृत्यु, ७२ जना घाइते

कार्तिक महिनामा कास्कीमा ४८ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ७२ जना घाइते भएका छन्। दुर्घटनामा ५६ वटा सवारीसाधन संलग्न रहेको प्रहरीको तथ्यांक छ।

ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ९३ वटा सवारीसाधनलाई कारबाही गरी २६ लाख ८८ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रहरीका अनुसार तीव्र गतिका कारण २२ वटा, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १४ वटा, सवारी चालक अनुमतिपत्र नभएका कारण एउटा र यात्रुका कारण एउटा दुर्घटना भएको विश्लेषण गरिएको छ।

लेक्साइडमा ‘अपरेसन सभ्यता’, १६० जनामाथि कारबाही

पर्यटकीय क्षेत्र लेकसाइडमा हुने झैझगडा, पर्यटकलाई अनावश्यक दुःख दिने तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ।

बिहार तथा छठ पर्वलाई सुरक्षित र सभ्य रूपमा सम्पन्न गराउने उद्देश्यसहित कार्तिक १९ गते रातिदेखि सुरु गरिएको उक्त अभियानअन्तर्गत ८ जना महिला र १५२ जना पुरुष गरी १६० जनामाथि आवश्यक कारबाही गरिएको छ। साथै ३९४ वटा सवारीसाधनलाई समेत कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

देउसीभैलो खेल्ने क्रममा भएको झैझगडामा संलग्न २३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पोखरा–२ बाग्लुङ बसपार्कबाट १४ जना र पोखरा–६ लेकसाइडबाट नौ जना पक्राउ परेका थिए।

यसैगरी विभिन्न स्थानबाट ठूलो परिमाणमा पटका तथा विस्फोटक सामग्री बरामद गरी नष्ट गरिएको छ। ‘अपरेसन ३६५’ अन्तर्गत ५४ वटा सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ।

४ हजारभन्दा बढी नागरिकलाई सचेतना

अपराध न्यूनीकरण तथा नागरिक सचेतना अभिवृद्धिका लागि प्रहरीले कार्तिक महिनामा समुदाय केन्द्रित ६३ वटा कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममा ४ हजार १३२ जना सहभागी भएका छन्।

लागूऔषध दुर्व्यसन नियन्त्रण, मानव बेचबिखन, लैङ्गिक हिंसा, घरेलु हिंसा, साइबर अपराध, ट्राफिक सचेतना, बालविवाह तथा सामाजिक विभेद नियन्त्रणलगायत विषयमा कार्यक्रम सञ्चालन गरिएको हो।

विद्यालय केन्द्रित तीनवटा कार्यक्रममा ३८० जना विद्यार्थी सहभागी भएका छन्।

यसैगरी प्रहरी कार्यालयमा प्रत्यक्ष निवेदनबाट प्राप्त २२६ वटा उजुरी सबै फर्छ्योट गरिएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त १९ वटा उजुरीसमेत फर्छ्योट भएका छन्। प्रहरीको हटलाइन तथा सम्पर्क नम्बरमा १ हजार ६७६ वटा फोन आएका छन् भने ७ हजार ४६९ जना सेवाग्राहीले प्रहरीबाट सेवा लिएका छन्।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ अवैध रूपमा उत्खननमा प्रयोग भएका आठवटा सवारीसाधन नियन्त्रणमा लिएर स्थानीय तहमा पठाइएकोमा एक लाख ८२ हजार रुपैयाँ जरिवाना भएको छ। साथै ७५ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरिएको र एक नाल भरुवा बन्दुक तथा दुई राउन्ड गोलीसमेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम, नागरिकमैत्री प्रहरी सेवा तथा सचेतनामूलक गतिविधिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0