पोखरा २ मंसिर । फोहोरलाई समस्याका रूपमा नभई आम्दानी, रोजगारी र नवप्रवर्तनको स्रोतका रूपमा स्थापित गर्ने उद्देश्यसहित पोखरामा दोस्रो संस्करणको ‘रिसाइक्लिङ एन्ड अपसाइक्लिङ फेस्टिभल ९आरयू फेस्ट २०२६–रि–थिङ्क०’ सुरु भएको छ ।
बुधबार पोखरा इभेन्ट सेन्टरमा आयोजित एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सवको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले फोहोरभित्र लुकेको आर्थिक, सामाजिक तथा वातावरणीय सम्भावनाको पहिचान गरी पुनः प्रयोग र प्रशोधनमार्फत नयाँ उत्पादन, रोजगारी तथा उद्यमशीलता सिर्जना गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । फोहोर उत्पादनको मात्रा बढ्दै जाँदा यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले पुनः प्रयोग र प्रशोधनलाई प्राथमिकता दिन सके व्यवस्थापन सहज हुने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वव्यापी रूपमा देखिएका वातावरणीय तथा पर्यावरणीय समस्याको न्यूनीकरणमा प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताए । वातावरण संरक्षण र फोहोर व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० को सहयोग तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी० को व्यवस्थापनमा पोखरामा परियोजना सुरु गरिएको उनले जानकारी दिए ।
त्यसैगरी, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले रिसाइक्लिङ तथा अपसाइक्लिङसम्बन्धी परियोजनाले फोहोरलाई आम्दानीको स्रोत अर्थात् ‘फोहोरबाट मोहोर’ बनाउने सम्भावना सिर्जना गरेको बताए । यस्तो अभियान कास्कीवासीका लागि खुसीको विषय भएको उल्लेख गर्दै उनले यसको सफलताका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले मानिसले उत्पादन गर्ने फोहोर व्यवस्थापन गर्ने दायित्व पनि मानिसकै भएको बताए । फोहोरलाई समस्या मात्र नभई समाधानको सम्भावनाका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले यसको पुनः प्रयोग र प्रशोधनमा जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपालका लागि कोइकाका कन्ट्री डाइरेक्टर मोओहेन कोङ, यूएनडीपीका नेपालस्थित आवासीय प्रतिनिधि क्युको एकोसुका, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुली तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेललगायतले मन्तव्य राखेका थिए ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पोखरा महानगरपालिका, कोइका र यूएनडीपीको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सव मंसिर ३ गतेसम्म पोखरा इभेन्ट सेन्टरमा चल्नेछ ।
महोत्सवमा स्थानीय हरित उद्यमीहरूले फालिएका तथा प्रयोगविहीन वस्तुलाई पुनः प्रयोग र प्रशोधन गरी तयार पारेका आकर्षक एवं उपयोगी सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न कक्ष राखिएका छन् । यसले फोहोर व्यवस्थापनसँगै स्थानीय उद्यमशीलता र हरित अर्थतन्त्र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवको उद्घाटनका दिन फेसन शो, नाटक मञ्चनलगायतका सिर्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सोही अवसरमा ‘फोहोरको राक्षस’ र ‘साँझ बोले बुढी’ पुस्तकको लोकार्पण गरिएको थियो ।
महोत्सवका मुख्य आकर्षणका रूपमा विभिन्न प्रदर्शनी कक्ष, अन्तरक्रिया कार्यक्रम तथा फोहोरबाट सिर्जना गरिएका नयाँ उत्पादनहरू रहेका छन् । कार्यक्रम सञ्चालन फोकल पर्सन इन्जिनियर नेत्र तिमिल्सिनाले गरेका थिए ।













