पोखरा । लक्ष्मी आदर्श माध्यमिक विद्यालय, पोखरा–२७ को ५८औँ वार्षिकोत्सवको अवसरमा चन्द्रकान्त ढकाल समाजसेवा तथा शिक्षा पुरस्कार प्रदान गरिएको छ। विद्यालयका पूर्वविद्यार्थी पद्मराज ढकालले आफ्ना बुबाको नाममा स्थापना गरेको उक्त पुरस्कारबाट समाजसेवा तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
चन्द्रकान्त ढकाल समाजसेवा पुरस्कारबाट तत्कालीन लेखनाथ लायन्स अस्पताललाई सर्वस्व दान गर्ने रेवतीरमण पौडेल र शान्ता पौडेल सम्मानित भएका छन्। त्यसैगरी, पाँच दशकभन्दा बढी समय शैक्षिक सेवा गरेका पोखरा–२६ निवासी तथा विद्यालयका पूर्वप्रधानाध्यापक वेदनाथ ढुङ्गानालाई चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार प्रदान गरिएको छ।
दुवै पुरस्कारको राशि २५ हजार २५ रुपैयाँ रहेको छ। पुरस्कार संस्थापक पद्मराज ढकालले विद्यालयको वार्षिकोत्सव समारोहमा उक्त पुरस्कार प्रदान गरेका हुन्।
यसअघि समाजसेवा पुरस्कारबाट भोजराज भण्डारी तथा शिक्षा पुरस्कारबाट प्रा.डा. इन्द्रप्रसाद तिवारी सम्मानित भएका थिए।
शिक्षा पुरस्कारअन्तर्गत विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई समेत सम्मान गरिँदै आएको छ। २०८१ सालको एसईईमा छात्रतर्फ उत्कृष्ट भएका विवेक अधिकारी र विजय भुजेल तथा २०८२ सालमा उत्कृष्ट भएका अनुज भट्टराईलाई चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी, ढकालकी बहिनी अम्बिका ढकालले आमाको नाममा स्थापना गरेको फणीन्द्रकुमारी ढकाल शिक्षा पुरस्कारबाट २०८१ सालको एसईईमा उत्कृष्ट छात्रा सोना ढकाल र २०८२ सालमा उत्कृष्ट छात्रा सन्ध्या घर्ती मगर सम्मानित भएका छन्।
ढकालको एकल सांगीतिक कार्यक्रम–२०६९ मा बचत भएको रकमबाट अक्षयकोष स्थापना गरी २०७० सालदेखि उक्त दुवै शिक्षा पुरस्कार प्रदान गरिँदै आएको छ। यी पुरस्कारको राशि जनही १० हजार १० रुपैयाँ रहेको छ।
विद्यालयको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष इश्वरी लामिछाने तथा पुरस्कार संस्थापक पद्मराज ढकाललगायतको उपस्थिति रहेको थियो।
समाजसेवा, शैक्षिक योगदान र विद्यार्थीको उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएका यी पुरस्कारले सामाजिक सेवामा समर्पित व्यक्तित्व तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएका छन्।















