पोखरा । विश्वकर्मा वैदिक प्रतिष्ठानलाई गुरुकुल भवन निर्माणका लागि पोखरा महानगरपालिका–२४, बास्कोटका नरहरी गौतमले आधा रोपनी जग्गा भूमिदान गरेका छन् । भूमिदानसम्बन्धी समझदारीपत्रमा मंगलबार पोखरा–१५, नयाँगाउँस्थित प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा प्रतिष्ठानका अध्यक्ष गणेशबहादुर विश्वकर्मा बराइली र भूमिदाता गौतमले हस्ताक्षर गरेका हुन् । गौतमका बुबा मोतिलाल गौतम र भाइ नारायण गौतमको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरिएको प्रतिष्ठानले जनाएको छ । दानस्वरूप प्राप्त पोखरा–२४, बास्कोट पामेस्थित जग्गामा विश्वकर्मा वैदिक गुरुकुल निर्माण गरिनेछ ।
प्रतिष्ठानका अध्यक्ष गणेशबहादुर विश्वकर्मा बराइलीले वेदको अध्ययन–अध्यापन र सनातनी संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको बताए । गुरुकुल सञ्चालन गर्नुको उद्देश्य बालबालिकालाई वैदिक शिक्षा प्रदान गर्नुका साथै सनातनी परिवारलाई आफ्नो धर्म, संस्कृति र परम्पराबारे जानकारी गराउनु रहेको उनले उल्लेख गरे ।
विश्वकर्मा समुदायका पण्डितहरूको ज्ञान र सीपलाई थप परिष्कृत बनाउने काम पनि प्रतिष्ठानले गर्दै आएको उनले बताए । उनका अनुसार प्रतिष्ठानले हालसम्म चारवटा तालिम सञ्चालन गरिसकेको छ । शिल्पी समुदायमा सनातनी संस्कृति र वैदिक शिक्षाको महत्त्वबारे ज्ञान विस्तार गर्न पनि गुरुकुलको परिकल्पना गरिएको उनले स्पष्ट पारे ।

भूमिदानसम्बन्धी समझदारी भएसँगै गुरुकुल भवन निर्माणको प्रक्रिया अघि बढाइने अध्यक्ष विश्वकर्माले बताए । गुरुकुल निर्माणका आवश्यक मापदण्डलाई ध्यानमा राख्दै छिट्टै शिलान्यास गर्ने तयारी गरिएको उनको भनाइ थियो । उनले गुरुकुल निर्माणका लागि जग्गादान गर्ने गौतमप्रति आभार व्यक्त गरे ।
भूमिदाता नरहरी गौतमले नेपाल देवभूमि, शिवभूमि र पार्वतीभूमि भए पनि राजनीतिक कारणले धार्मिक तथा सांस्कृतिक विषय ओझेलमा परेको बताए । धर्म रक्षासँगै सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यले आफूले धार्मिक क्षेत्रमा काम गर्दै आएको उनले उल्लेख गरे । शिल्पी समुदायका व्यक्तिहरूले भोग्नुपरेको दुःख, कष्ट र विभेदलाई नजिकबाट देखेकाले उनीहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्दै आएको गौतमले बताए । जातीय विभेदको अन्त्य हुनुपर्ने र शिल्पी समुदायका बालबालिकाले पनि अन्य समुदायसरह वैदिक शिक्षा हासिल गर्न पाउनुपर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनले स्पष्ट पारे ।
गत वर्ष शिल्पी समुदायका बालबालिकालाई गुरुकुलमा अध्ययन गराउने प्रयास गर्दा विभिन्न गुरुकुलमा जातीय विभेदका कारण भर्ना पाउन कठिन भएको उनले गुनासो गरे । त्यसपछि केही बालबालिकालाई देवघाट, केहीलाई हेटौँडा र केहीलाई कैलाली पठाउनुपरेको उनले बताए । उक्त घटनाले आफूलाई निकै पीडा दिएको उल्लेख गर्दै गौतमले समुदायका बालबालिकाले आफ्नै क्षेत्रमा वैदिक शिक्षा हासिल गर्न सकून् भन्ने उद्देश्यले गुरुकुल निर्माणका लागि जग्गा उपलब्ध गराएको बताए ।

उनले गुरुकुल निर्माणका लागि जग्गा प्रदान गर्नुका साथै आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । युगौँसम्म शिल्पी समुदायका बालबालिकाले वैदिक ज्ञान हासिल गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले गुरुकुल परिसरमा सरस्वतीको मन्दिरसमेत निर्माण गर्ने योजना सुनाए । भवन निर्माणका लागि सबै पक्षलाई सहयोग गर्न उनले आग्रह गरे ।
यसअघि आफूले समाजमा धर्मप्रतिको आस्था अभिवृद्धि गर्ने उद्देश्यले मन्दिरसमेत निर्माण गरेको गौतमले जानकारी दिए । धार्मिक तथा सामाजिक कार्यक्रममा सबै समुदायको सहभागिता हुनुपर्ने उल्लेख गर्दै उनले शिल्पी समुदायका विभिन्न जिल्लाका गुरुहरूलाई प्राथमिकताका साथ सहभागी गराएर कार्यक्रम सञ्चालन गरेको बताए ।
गुरुकुल निर्माणको आवश्यकता महसुस भइरहेका बेला भूमिदान गर्ने अवसर प्राप्त भएकाले आफूले जग्गा उपलब्ध गराएको उनको भनाइ थियो ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा प्रा.डा. नारायणप्रसाद अधिकारी, पत्रकार रविन्द्र माकाजु, समाजसेवी निरज थापा, धार्मिक गुरु श्रीहरि विश्वकर्मा, ठाडो भाकाका सर्जक बुद्धिमान दुरा धम्पु, विश्वकर्मा समाज नेपालका उपाध्यक्ष मञ्जु विक, वरिष्ठ अधिवक्ता पदमपाणी देवकोटा सहित प्रतिष्ठानका सन्तबहादुर बराइली र अशोककुमार विश्वकर्मालगायतले गुरुकुल निर्माणको आवश्यकता, वैदिक शिक्षाको विस्तार तथा जातीय विभेद अन्त्यका विषयमा धारणा राखेका थिए ।

















