पोखरा ।  कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सबैजना आ–आफ्नो ठाउँमा जवाफदेही र जिम्मेवार हुने हो भने समाजका धेरै समस्या समाधान हुने बताएका छन् ।

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीले मंगलबार आयोजना गरेको संस्थाको ३३औँ ‘सामुदायिक सन्देश’ बुलेटिन विमोचन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कानुन निर्माण मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन र पालना आवश्यक रहेको बताए । नेपालमा धेरै कानुन बने पनि तिनको पालना नहुँदा विभिन्न समस्या उत्पन्न हुने गरेको उनको भनाइ थियो ।

सबैलाई अनुशासनमा राख्न र सही मार्गमा डोर्‍याउन कानुन निर्माण गरिए पनि त्यसको पालना कम हुने गरेको उनले बताए । कानुन कार्यान्वयन गराउने निकायलाई मात्रै प्रश्न गर्ने प्रवृत्तिभन्दा कानुन पालना गर्ने नागरिक पनि उत्तिकै सचेत र सजग हुनुपर्नेमा उनले जोड दिए । सबैले आफ्नो जिम्मेवारी पूरा गरेमा समाजमा देखिने धेरै समस्या समाधान गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीले कानुनविपरीतका गतिविधिमा संलग्न जोकोहीलाई पनि प्रहरीले कारबाही गर्ने बताए । उनले त्यस्ता गतिविधि देखिएमा प्रहरीलाई जानकारी गराउन नागरिकसँग आग्रह गरे ।

जथाभावी सवारीसाधन पार्किङ गर्ने प्रहरीकै सवारीचालकलाई समेत कारबाही गरिएको उदाहरण दिँदै उनले कानुन कार्यान्वयनमा कसैलाई पनि छुट नदिइने स्पष्ट पारे । कानुनविपरीतका गतिविधिको तस्बिर खिचेर पठाएमा पनि त्यसका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले प्रतिबद्धता जनाए । गण्डकी प्रदेशमा प्रहरीको स्वीकृत दरबन्दीअनुसार जनशक्ति नहुँदा शान्ति सुरक्षा व्यवस्थापनमा केही समस्या भइरहेको पनि उनले बताए ।

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष भीम पराजुलीले सातवटा केन्द्रमार्फत विभिन्न गतिविधि सञ्चालन गरी समाजमा सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए । संस्थाले गरेका कामलाई अभिलेखीकरण गर्दै सरोकारवालासमक्ष पुर्‍याउने उद्देश्यले ‘सामुदायिक सन्देश’ बुलेटिन नियमित रूपमा प्रकाशन गर्दै आएको उनले बताए ।

नजिकिँदै गरेका चाडपर्वका समयमा जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा आवश्यक तयारीका विषयमा छलफल गर्ने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविण कँडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ऐनकुमार साईलगायतले धारणा राखेका थिए ।

कार्यक्रममा कास्कीका विभिन्न सामुदायिक सेवा केन्द्रले सञ्चालन गरेका सचेतनामूलक गतिविधि, अपराध नियन्त्रण तथा सामाजिक विकृति र विसङ्गतिविरुद्धका कार्यक्रम समेटिएको ‘सामुदायिक सन्देश’ बुलेटिनको ३३औँ संस्करण विमोचन गरिएको थियो ।

अन्तरक्रियाका क्रममा सहभागी सरोकारवालाले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा प्रभावकारी बनाउनुपर्ने विषयमा जिज्ञासा सुझाव तथा गुनासासमेत राखेका थिए । कार्यक्रमको सञ्चालन वरिष्ठ प्रहरी नायब निरीक्षक होतबहादुर रोकाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0