पोखरा । रातको समयमा चर्को आवाज निकाल्दै मोटरसाइकल पड्काएर हिँड्ने समूहले ड्युटीमा खटिएका प्रहरी अधिकृतलाई नै घेराबन्दी गरेपछि पोखरामा सुरु गरिएको ‘अपरेसन ३६५’ अभियानले एक वर्ष पूरा गरेको छ । ध्वनि प्रदूषण, अनावश्यक होहल्ला र शान्ति सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत एक वर्षमा ८९८ वटा मोटरसाइकलमाथि कारबाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी नवीन कार्कीका अनुसार अभियान सुरु हुनुको एउटा प्रमुख कारण रातिको समयमा मोटरसाइकल पड्काउँदै हिँड्ने समूहले प्रहरी अधिकृतलाई नै घेराबन्दी गरेको घटना थियो । तत्कालीन वैदाम प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक डीएसपी नमराज भट्टराई ड्युटीमा रहेका बेला राति ९ देखि १० बजेको समयमा पोखराको हल्लनचोकमा मोटरसाइकल पड्काउँदै हिँड्ने छ जनाको समूहले उनलाई घेराबन्दी गरेको थियो ।

त्यतिबेला रातिको समयमा मोटरसाइकलको चर्को आवाज र पड्किने ध्वनिका कारण सर्वसाधारणबाट समेत व्यापक गुनासो आउने गरेको एसपी कार्कीले बताए । प्रहरी अधिकारीलाई नै घेराबन्दी गर्ने अवस्थासम्म पुगेका यस्ता गतिविधि नियन्त्रण गर्न अभियान सञ्चालन गर्नुपरेको उनको भनाइ छ ।

मंगलबार सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै एसपी कार्कीले अभियानका क्रममा प्राप्त उपलब्धि र चुनौतीबारे जानकारी गराएका थिए ।

प्रहरीका अनुसार २०८२ असोज २७ गतेदेखि सञ्चालन गरिएको ‘अपरेसन ३६५’ को सुरुआती दुई दिनमै करिब २५० मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । अभियानलाई निरन्तरता दिँदै ३६५ दिनको अवधिमा ८९८ मोटरसाइकलमाथि कारबाही गरिएको छ ।

कारबाहीमा परेका मोटरसाइकलमध्ये ३६१ वटालाई पटकपटक नियम उल्लङ्घन गरेको कसुरमा यातायात व्यवस्था कार्यालयमार्फत कारबाही गरिएको प्रहरीले जनाएको छ । अन्य मोटरसाइकललाई ट्राफिक जरिवाना गरेर छाडिएको थियो ।

२९ जनाविरुद्ध मुद्दा, रातिको होहल्ला नियन्त्रणमा आएको प्रहरीको दाबी

अभियानको पहिलो चरणमा अराजक गतिविधिमा संलग्न व्यक्तिविरुद्ध मुद्दासमेत चलाइएको एसपी कार्कीले बताए । उनका अनुसार यस्ता गतिविधिमा संलग्न २९ जनाविरुद्ध मुद्दा चलाइएपछि नियन्त्रणमा केही सुधार आएको छ ।

अभियानले निरन्तरता पाएपछि रातिको समयमा चर्को आवाज र अनावश्यक होहल्लाका कारण सर्वसाधारणले भोग्दै आएको सास्ती कम भएको उनको भनाइ छ । रातिको समयमा शान्तिपूर्वक सुत्न सक्ने वातावरण निर्माण गर्न अभियानले सहयोग पुर्‍याएको उनले बताए ।

मोटरसाइकल मोडिफाइ गर्ने ग्यारेज पनि प्रहरीको निगरानीमा

चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने अर्थात् मोडिफाइ गर्ने ग्यारेजमाथि समेत प्रहरीले निगरानी बढाएको छ । पोखराका मोटरसाइकल चितवनसम्म पुर्‍याएर मोडिफाइ गर्ने गरिएको जानकारी आएको उल्लेख गर्दै एसपी कार्कीले यस्ता गतिविधिमा संलग्न ग्यारेजमाथि पनि कारबाही गरिने बताए ।

मोटरसाइकलमा गैरकानुनी रूपमा परिवर्तन गरी ध्वनि प्रदूषण बढाउने कार्य रोक्न ग्यारेज सञ्चालकलाई सचेत गराइएको र नियमविपरीत काम गर्नेलाई कारबाही गरिने उनले स्पष्ट पारे ।

पोखरामा शान्ति सुरक्षा कायम गर्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने र रातिको समयमा हुने अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले सञ्चालन गरिएको ‘अपरेसन ३६५’ लाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0