पोखरा । पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आजदेखि कार्तिक ३ गते महानवमीसम्म महोत्सव सञ्चालन हुने भएको हो । महोत्सवको अवसरमा आज आइतबार नवदुर्गा शोभायात्रा निकालिएको थियो । विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा पोखरा सहरका विभिन्न भाग परिक्रमा गरी पुनः मन्दिर परिसरमै पुगेर सम्पन्न भएको थियो ।

शोभायात्रामा नवदुर्गाका नौ स्वरूपमा सिंगारिएका नवकन्यासहितको रथ, विभिन्न झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट, राष्ट्रिय सेवा दल तथा बटुकहरूको सहभागिता रहेको थियो । त्यसैगरी, जलकलशसहित मातृशक्ति, विभिन्न आमा समूह, सामाजिक, धार्मिक, जातीय तथा सांस्कृतिक संघसंस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, शैक्षिक संस्था, भजन समूह, उद्योग वाणिज्य तथा वस्तुगत संघ र सर्वसाधारणको उपस्थिति रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

शोभायात्रामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी नवीन कार्की तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायत विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पूजा–आराधनामा मात्र सीमित नभई यस क्षेत्रको धर्म, संस्कृति र परम्परा संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले विन्ध्यवासिनी आयुर्वेद अस्पताल, गुरुकुललगायतका परियोजना सञ्चालन गरेर समितिले संस्थागत रूपमा धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गरे ।

नवदुर्गा महोत्सवअन्तर्गत घटस्थापनादेखि महानवमीसम्म विन्ध्यवासिनी मन्दिर परिसरमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञसमेत आयोजना गरिएको छ । महायज्ञमा कथा प्रवचन, भजनकीर्तन तथा महाआरतीका कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ । समितिका अनुसार दैनिक मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म कथा प्रवचन, दिउँसो २ बजेदेखि ४ बजेसम्म भजनकीर्तन र साँझ ६ बजे महाआरती गरिनेछ ।

विन्ध्यवासिनी मन्दिरलाई पोखराको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । विशेषगरी युवा तथा बालबालिकालाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ । मन्दिरमा भक्तजनले चढाउने भेटी सामाजिक कार्यमा खर्च गरिँदै आएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

विन्ध्यवासिनी मन्दिर परिसरमा गुरुकुल विद्याश्रम, प्राकृतिक चिकित्सा केन्द्र तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा छन् । साथै, अशक्त तथा अपाङ्गता भएका भक्तजनलाई सहज रूपमा मन्दिरमा आवतजावत गर्न लिफ्ट सेवासमेत उपलब्ध गराइएको समितिले जनाएको छ । महोत्सवमा सहभागी भक्तजनको सुविधालाई ध्यानमा राख्दै सुरक्षा, यातायात, स्वास्थ्य, खानेपानी तथा सरसफाइको उचित प्रबन्ध मिलाइएको समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0