पोखरा । नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध, बाल्यकालका रमाइला सम्झना र तीन पुस्ताको जीवनयात्रालाई समेटेर तयार पारिएको ‘सारङ्गीको र्याईं र्याईं, पञ्चेबाजा झ्याईं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल रानाभाट सुवोधको रचना तथा संगीत सिर्जनामा तयार भएको गीतले बाल्यकालदेखि युवावस्था हुँदै प्रौढ उमेरसम्मका अनुभव, सम्झना र सम्बन्धलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ। सबै उमेर समूहका दर्शक तथा श्रोताले एकै ठाउँमा बसेर सुन्न, रमाउन र नाच्न सक्ने गीत बनाउने उद्देश्यले यसको सिर्जना गरिएको रानाभाटले बताएका छन्।
रानाभाटका अनुसार यो उनका रचना गरिएका नौवटा गीतमध्ये सबैभन्दा पछिल्लो सिर्जना हो। विभिन्न खालका जमघट, उत्सव तथा सांस्कृतिक कार्यक्रममा सबै पुस्तालाई समेट्ने गीतको आवश्यकता महसुस गरेर यसको रचना गरिएको उनले बताए।
गीतमा बाल्यकालमा साथीहरूसँग गुच्चा खेलेका दिन, विद्यालय जीवन, किशोरावस्थाका आकर्षण, एकोहोरो प्रेम, युवावस्थाका रमाइला क्षण, घरपरिवार छाडेर साथीहरूसँग बिताएका समय र प्रौढ अवस्थामा फर्केर सम्झिने विगतका अनुभवलाई समेटिएको छ। यात्राका क्रममा भेटिने मानिससँग जोडिने सम्बन्धदेखि तिहारजस्ता सांस्कृतिक पर्वका प्रसङ्गसमेत गीतमा समावेश छन्।
‘सानोमा गुच्चा खेलेका साथीहरू, विद्यालयमा सँगै पढेका सहपाठी र जीवनका विभिन्न मोडमा जोडिएका सम्बन्धहरू मानिसले समय बित्दै जाँदा पनि सम्झिरहन्छन्,’ रानाभाटले भने, ‘सबै उमेरका मानिसले आफ्नै जीवनका कुनै न कुनै क्षण भेट्न सकून् र गीत सुन्दै रमाउन सकून् भन्ने सोचले सिर्जना गरेको हुँ।’
म्युजिक भिडियोमा बालक, युवा र प्रौढ उमेर समूहका कलाकारलाई समेटिएको छ। यसले गीतलाई केवल मनोरञ्जनमा सीमित नराखी पुस्तान्तरणसँगै बदलिँदै जाने जीवनशैली र समयसँगै पनि नमेटिने आत्मीय सम्बन्धलाई चित्रण गरेको छ।
भिडियोका मुख्य कलाकार खड्ग कुँवर (नवराज) हुन्। संगीतप्रति रुचि राख्ने कुँवरले अभिनयसँगै भिडियो निर्माणमा लगानीसमेत गरेका छन्। लामो समयदेखि अभिनयमा रुचि भए पनि अवसरको खोजीमा रहेका कुँवरले नेपाल रानाभाटसँगको सहकार्यपछि आफ्नो रुचिलाई व्यवहारमा उतार्ने अवसर पाएको बताए। आफ्नो मेहनत र अभिनयलाई दर्शकले मन पराउने विश्वास उनले व्यक्त गरेका छन्।

गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका भिडियोका निर्देशक अनुराग अधिकारीले गीतको भावअनुसार भिडियोको अवधारणा तयार पारिएको बताए। सुरुमा पुरुष स्वर मात्रै राख्ने योजना रहे पनि आफ्नो सुझावपछि महिला स्वरसमेत समावेश गरिएको उनले जानकारी दिए। गीतले उठाएका विषयलाई अनावश्यक तडकभडकभन्दा पनि प्रेमिल र स्वाभाविक शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ छ।
बाल्यकाल, युवावस्था र प्रौढ उमेरका छुट्टाछुट्टै समूह बनाएर भिडियोमा जीवनका फरकफरक चरणलाई आकर्षक ढङ्गले देखाउन खोजिएको अधिकारीले बताए। गीतको भाव, शब्द र संगीतसँग दृश्यलाई जोडेर दर्शकले आफ्नै विगतका क्षण सम्झिन सक्ने वातावरण निर्माण गरिएको उनको भनाइ छ। भिडियोमा खड्ग कुँवर (नवराज), संगीता खाती, अनुपमा अधिकारी, दीपक परियार, सिद्धार्थ विक, स्वाभावी खत्री लगायतकाे अभिनयले भिडियोलाई परिपक्क बनाएको छ ।
भिडियोकी कलाकार अनुपमा अधिकारी पनि यस कामप्रति उत्साहित छिन्। सानैदेखि अभिनयमा रुचि राख्दै आएकी उनले यसअघि पनि केही भिडियोमा काम गरिसकेकी छन्। यसपटकको कामबाट आफू सन्तुष्ट रहेको बताउँदै उनले अध्ययन र कलाकारितालाई सँगसँगै अगाडि बढाउने लक्ष्य राखेको सुनाइन्।
गीतमा नेपाल रानाभाट सुवोधको रचना तथा संगीत रहेको छ भने मेलोडी सङ्कलनसमेत उनले नै गरेका हुन्। गीतमा कृष्ण केसी, रामजी पौडेल र जुनु रिजालको स्वर रहेको छ। भिडियो निर्देशन अनुराग अधिकारीले गरेका हुन्। छायाङ्कन मिलन शंकर, दीपेश केसी र सन्देश थापाले गरेका छन्। गीतको रेकर्डिङ रोजेन महर्जनले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ विमल छिनालले गरेका छन्। भिडियो निर्माणमा डाइनामिक स्टुडियोको प्राविधिक सहयोग रहेको छ।
समयसँगै मानिसको उमेर, परिवेश र जीवनशैली बदलिँदै गए पनि बाल्यकालका सम्झना, साथीभाइसँगको आत्मीयता र पुराना सम्बन्ध कहिल्यै पुराना हुँदैनन् भन्ने सन्देश गीतले दिएको छ। त्यसैले पारिवारिक जमघट, उत्सव, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनका अवसरमा सबै पुस्तालाई सँगै नचाउने र विगतका रमाइला दिन सम्झाउने अपेक्षा निर्माण पक्षले गरेको छ।
‘सारङ्गीको र्याईं र्याईं, पञ्चेबाजा झ्याईं’ म्युजिक भिडियो बुढासुब्बा म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। रिलिज भएको केही समयमा नै गीतले दर्शकको राम्रो साथ पाइरहेको छ ।
















