पोखरा । दृष्टिविहीन युवा तथा महिलाको आवाज उजागर गर्न नेपाल नेत्रहीन संघले पहिलो पटक पोखरामा राष्ट्रिय भेला २०८३ गर्न लागेको छ। ‘हाम्रो आवाज, हाम्रो नेतृत्व’ भन्ने नारासहित विहीबार राष्ट्रिय युवा तथा तथा महिला भेला गर्ने स्थानीय आयोजक समितिका सदस्य सचिव खोमराज शर्माले जानकारी दिए ।
उनका अनुसार भेलामा युवा तथा महिलाको सवाल स्वयंले नै उजागर गर्ने तथा संघले त्यसको लागि आवश्यक मञ्च, स्रोत र सहयोग जुटाउने मान्यता सहित भेला आयोजना गरिएको हो। भेलामा सातै प्रदेशका ६२ युवा तथा ३८ महिला गरी १०० जनाको सहभागिता रहने उनले बताए । गण्डको प्रदेशका प्रमुख सचिव आभा श्रेष्ठ कर्णले भिडिओ सुरु गरी उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। डेनिस एसोसियसन अफ द ब्लाइन्डका कार्यक्रम व्यवस्थापक सुसन्ने कोच आन्ड्रेसनले भेलालाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
सदस्य सचिव शर्माले उद्द्घाटन सत्रमा संघकी केन्द्रीय सदस्य अस्मिता भट्टराईले नेपालको नारीवादी आन्दोलनमा दृष्टिविहीन महिलाको स्थान र संघका गण्डकी प्रदेशका महासचिव छवि आलेले जेन्जी आन्दोलन पछि दृष्टि विहीन युवाको स्थान विषयमा मुख्य प्रस्तुति गर्ने जनाए।
‘युवा सत्रमा आत्म निर्भर स्वाभिमानी युवा, स्वस्थ युवा, कुशल नेतृत्व डिजिटल रुपान्तरण र कृत्रिम बुद्धिमत्ताले ल्याएको असरबारे छलफल केन्द्रित हुने छ,’ उनले भने, ‘महिला सत्रमा हिंसा मुक्त सुरक्षित जीवन, आर्थिक स्वतन्त्रता र मर्यादित जीवन तथा नेतृत्व र निर्णय प्रक्रियामा दृष्टिविहीन महिलाको सहभागिता बारेमा छलफल गरिने छ।’ उनले सहभागी आफैले महिला तथा युवाका ५/५ प्राथमिकता किटान गर्ने बताए ।
नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य तथा भेला स्थानीय समितिका संयोजक लक्ष्मण सुवेदीले भेलाले पोखरा कार्य आह्वान पारित गर्नुका साथै ९/९ सदस्यीय युवा तथा महिला समिति गठन गर्ने जानकारी दिए। उनका अनुसार समितिले संघको सहयोगमा १ वर्षसम्मको लागि भेलाले तय गरेका प्राथमिकतामा काम गर्न छन् । समितिका सदस्यलाई कात्तिक २० देखि २२ गतेसम्म नेतृत्व विकास, पैरवी तथा प्रभावकारी सञ्चार तालिम प्रदान गर्ने कार्यक्रम तय भएको छ।
कार्यक्रममा नेत्रहीन संघ गण्डकीका अध्यक्ष कुमार पुन र महासचिव आलेले भेलाको तयारीको वारेमा बोलेका थिए । नेपाल नेत्रहीन संघ दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिद्वारा स्थापित्त तथा सञ्चालित संस्था हो। देश भर ७ प्रदेशका ५९ शाखा रहेको संस्थामा ५ हजार भन्दा बढी सदस्य छन् ।















