पोखरा । पोखरा महानगरपालिकाले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन तथा किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिँदै आएको छ । महानगरपालिकाले विगत तीन वर्षदेखि विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल उत्पादनमा किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाका अनुसार महानगरले फूल खेती विस्तारका लागि किसानलाई फूलको बीउ, मल्चिङ प्लास्टिक तथा आवश्यक तालिम उपलब्ध गराउँदै आएको छ । किसानको मेहनत र विभिन्न संघसंस्थाको सहकार्यका कारण पोखरामा उत्पादित फूलले स्थानीय बजारमा राम्रो स्थान बनाउनुका साथै किसानलाई आम्दानीको अवसरसमेत सिर्जना गरेको छ ।
यस वर्ष पोखरा महानगरपालिकाभित्र करिब २०० रोपनी क्षेत्रफलमा फूल खेती विस्तार भएको कडरियाले जानकारी दिए । उनका अनुसार तिहार गत वर्षको तुलनामा केही ढिलो परेकाले यस पटक फूल उत्पादन र बजारमा आपूर्तिको समय पनि प्रभावित भएको छ ।
मौसममा आएको परिवर्तन, केही समयसम्म परेको वर्षा तथा तापक्रममा भएको वृद्धिका कारण कतिपय स्थानमा किसानले लगाएका फूल समयअगावै फुलिसकेका छन् । यद्यपि अधिकांश स्थानमा लगाइएको फूल भने तिहारका लागि तयारी अवस्थामा रहेको उनले बताए ।
कडरियाले भने, “किसानहरूको मेहनत र यहाँका संघसंस्थाको सहयोगले स्थानीय उत्पादनबाटै राम्रो आम्दानी भइरहेको छ । यस वर्ष तिहार केही ढिलो भएकाले फूल उत्पादनमा समयको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । केही ठाउँमा फूल फुलिसकेका छन् भने अधिकांश ठाउँमा अबको करिब १० दिनभित्र फूल तयार हुने अवस्थामा छन् ।”
फूल उत्पादक किसानलाई प्रोत्साहन गर्न विशेष मेला
स्थानीय फूल उत्पादनलाई बजारसँग जोड्ने तथा किसानलाई प्रत्यक्ष बिक्रीको अवसर उपलब्ध गराउने उद्देश्यले पोखरामा पुष्प मेला तथा गोदावरी फूल प्रदर्शनी आयोजना हुँदैछ । फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० कास्की, पोखरा महानगरपालिका तथा प्रदेश सरकारलगायतको सहयोगमा कार्तिक १८ देखि आयोजना हुने उक्त कार्यक्रमअन्तर्गत कात्तिक २२ र २३ गते सयपत्री फूल केन्द्रित विशेष मेला सञ्चालन गरिनेछ ।
पोखरा रंगशालाको दोस्रो गेटमा आयोजना हुने मेलामा फूल खेती गर्ने किसानलाई सहभागी गराउन महानगरले सूचना जारी गरी आवेदनसमेत आह्वान गरेको छ । व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसानलाई मेलामा आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनका लागि स्टल उपलब्ध गराइनेछ ।
मेलामा सहभागी भई फूलका स्टल सजाएर बिक्री वितरण गर्ने किसानलाई महानगरले प्रोत्साहनस्वरूप सहयोगसमेत उपलब्ध गराउने जनाएको छ । यसका साथै विगतका वर्षमा जस्तै आकर्षक फूलमाला निर्माण प्रतियोगितासमेत सञ्चालन गरिनेछ ।
तिहारको पूर्वसन्ध्यामा सयपत्री फूल र मालाको माग उच्च हुने भएकाले मेलामार्फत किसानले प्रत्यक्ष उपभोक्तासम्म आफ्नो उत्पादन पुर्याउन सक्ने अपेक्षा गरिएको छ । यसले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्नुका साथै उपभोक्ताले पनि स्थानीय किसानबाटै फूल तथा माला खरिद गर्न पाउनेछन् ।
पोखरामा २ देखि ३ लाख माला खपत हुने अनुमान
तिहारका अवसरमा पोखरामा करिब २ देखि ३ लाखवटा फूलमाला खपत हुने महानगरपालिकाको अनुमान छ । यसबाट करिब २ देखि ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको कडरियाले जानकारी दिए ।
उनका अनुसार यस वर्ष पोखरामा खपत हुने कुल फूलमध्ये करिब ७० प्रतिशत कास्की जिल्लामै उत्पादित फूलले धान्ने अनुमान छ । बाँकी ३० प्रतिशत फूल भने कास्कीसँग जोडिएका आसपासका जिल्लाबाट आपूर्ति हुनेछ ।
स्थानीय उत्पादनले बजारको ठूलो हिस्सा ओगट्न थालेसँगै पोखराको फूल खेतीले व्यावसायिक सम्भावना विस्तार गर्दै लगेको छ । यसले किसानको आम्दानी वृद्धि गर्नुका साथै बाहिरी जिल्लाबाट हुने फूलको आयातमा समेत कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महानगरका विभिन्न स्थानमा फूल बिक्रीको व्यवस्था
फूल मेला र प्रदर्शनीबाहेक पोखराका विभिन्न स्थानबाट समेत उपभोक्ताले फूल खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । महानगरका वडा नम्बर १७, १३ र १४ लगायत किसान बजार सञ्चालन भएका स्थानमा कात्तिक २४ गतेसम्म फूल खरिद गर्न पाइने कडरियाले बताए ।
महानगरपालिकाले फूल खेतीमा किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्ने प्रयास गरिरहेको छ । अनुदान, प्राविधिक तालिम, बीउ तथा आवश्यक सामग्री उपलब्ध गराउनुका साथै फूल मेलामार्फत बजार सुनिश्चित गर्ने प्रयासले पोखरामा पुष्प व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ ।
















