पोखरा । नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बदलिँदो श्रम बजारअनुसार श्रमिकले आफ्नो सीप, क्षमता र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।शुक्रबार पोखरामा जिफन्टसँग आबद्ध समग्र ट्रेड युनियन नेपालको १२औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले प्रविधिको विकाससँगै श्रम बजारको स्वरूप परिवर्तन भइरहेको बताए ।

उनले आफूले २०३६ सालमा इलेक्ट्रिसियनका रूपमा काम गर्दाको अवस्था र अहिलेको श्रम बजारबीच ठूलो अन्तर रहेको उल्लेख गरे । हिजो मानिसले गर्ने काम अहिले एआईले गरिरहेको छ । अब रोबोटले समेत काम गर्ने समय आइसकेको भन्दै उनले संसार परिवर्तन भइरहेका बेला श्रमिक पनि समयअनुसार अपडेट हुनुपर्ने बताए

श्रमिक आन्दोलनकै कारण देशमा ठूला राजनीतिक तथा सामाजिक परिवर्तन सम्भव भएको स्मरण गर्दै श्रेष्ठले अब देशको अर्थतन्त्र, उद्योगधन्दा र समृद्धिको रक्षाका लागि सम्पूर्ण ट्रेड युनियन आन्दोलन एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए । वर्तमान परिस्थितिले श्रमिक आन्दोलन र विगतमा प्राप्त उपलब्धिमा पार्न सक्ने प्रभावप्रति सचेत रहनुपर्ने उनको भनाइ थियो ।

विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य गलत भएको उल्लेख गर्दै उनले अपेक्षाअनुसार काम हुन नसके पनि पछिल्लो १० वर्षमा श्रमिकका क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरे । अब श्रमिकका वास्तविक समस्यालाई केन्द्रमा राखेर आन्दोलन अघि बढाउनुपर्ने र त्यसमा युवा श्रमिकको सहभागिता बढाउनुपर्ने उनले बताए ।

संगठनको संख्याले मात्रै उपलब्धि हासिल नहुने भन्दै श्रेष्ठले सीप, प्रविधि र उत्पादनमा केन्द्रित भएर जिम्मेवारीपूर्वक अघि बढ्न ट्रेड युनियनहरूलाई आग्रह गरे ।

जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले श्रम ऐनमा व्यवस्था गरिएका प्रावधान तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए । श्रमिकलाई रोजगारीमा प्रवेश गर्ने बेलामै आफ्ना हकअधिकारबारे जानकारी गराउनुपर्ने उनको भनाइ थियो ।

अझै पनि सरकारले तोकेको मासिक न्यूनतम १९ हजार ५५० रुपैयाँ पारिश्रमिक नपाउने श्रमिक रहेको उल्लेख गर्दै खत्रीले श्रमिकको न्यूनतम पारिश्रमिक र अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

समग्र ट्रेड युनियन नेपालका अध्यक्ष आनन्द थामीले श्रमिकको हकअधिकार र सुरक्षित भविष्य सुनिश्चित गर्न संगठनले काम गरिरहेको बताए । यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा भएका गतिविधि, सामना गर्नुपरेका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराए ।
त्यसैगरी, जिफन्ट सचिव विजया खड्काले श्रमिकको हकहित र अधिकार सुनिश्चितताका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताइन् । युनियनका गतिविधिले श्रमिकको क्षमता विकास र अधिकार सुनिश्चिततामा योगदान पुर्‍याएको उनको भनाइ थियो ।

कार्यक्रममा क्युपेक नेपालका उपाध्यक्ष सोम आलेलगायतले पनि मन्तव्य राखेका थिए । समग्र ट्रेड युनियन नेपालका उपाध्यक्ष मनोज मगरले स्वागत मन्तव्य राखेको उद्घाटन सत्रको सञ्चालन महासचिव दीपक आचार्यले गरेका थिए । अधिवेशनमा पाँचवटा प्रदेशबाट २२८ जना प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0