ममता भुजेल, पोखरा । मलाई आजै जस्तो लाग्छ, जब म दुई वा तीन कक्षामा पढ्थेँ। त्यो बेला मेरो हातमा भएको सामान्य ज्ञान (जिके)को किताबका पानाहरू पल्टाउँदा दुईवटा नाम सिधै देखिन्थे, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो। त्यतिबेला मेरा लागि फुटबल केवल किताबको एउटा प्रश्न र उत्तर मात्रै थियो। म सोच्थेँ, को होलान् यी मान्छेहरू, जसको नाम संसारले पढ्नुपर्छ।
हुनत म त्यस्तो चौपट्टै खेल प्रेमी होइन तर सानैदेखि उनीहरूको नाम सुने पनि, यसपटक मैले पहिलो पटक आफ्नै आँखाले विश्वकपको त्यो माहोल र फुटबलको सौन्दर्यलाई महसुस गरेँ। खेल हेर्दै जाँदा मैले बुझेँ स्कुलको किताबमा पढिएका ती नामहरू केवल कुनै खेलाडीका नाम मात्र रहेनछन् ,ती त सङ्घर्ष, त्याग, आँसु र कहिल्यै हार नमान्ने अदम्य इच्छाशक्तिको जीवन्त इतिहास रहेछन्।
विजेता त एउटा टोली मात्र बन्छ, जसरी यसपटक स्पेनले विश्वकप जित्यो। तर यो विश्वकप हेरिरहँदा मलाई स्पेनको जितले भन्दा बढी, मैदानमा दौडिरहेका हरेक खेलाडीको आँसु, चोट, पीडा र उनीहरूको भित्री सङ्घर्षले भावुक बनायो।
विश्वकप सकिन्छ, रङ्गशालाका बत्तीहरू निभ्छन् र तालीको गडगडाहट बिस्तारै शान्त हुन्छ। इतिहासको पानामा एउटा देशको नाम स्वर्ण अक्षरले लेखिन्छ, जसरी यसपटक स्पेनले विश्वकप जित्यो। हामी विजेताको अनुहारमा खुसी देख्छौँ, उनीहरूले उचालेको सुनौलो ट्रफी देख्छौँ। तर के हामीले कहिल्यै सोच्यौँ, त्यो ट्रफी उचाल्ने हातहरू कति पटक कापिएका थिए । त्यो पदक गलामा पहिरिनु अघि उनीहरूले कति रात सिरानी भिजाएका थिए।
फुटबल केवल ९० मिनेटको खेल मात्र होइन रहेछ। यो त मानिसको भित्री आत्मा, धैर्य र कहिल्यै हार नमान्ने कसमको ऐना पो रहेछ ।
जब हामी लियोनेल मेस्सीलाई मैदानमा जादु गरिरहेको देख्छौँ, तब हामी सजिलै भनिदिन्छौँ उनी त भगवान् हुन् तर त्यो भगवान् बन्नु अघि, एउटा सानो ११ वर्षको बालकलाई सम्झनुहोस्, जसको शरीरको विकास रोकिने रोग थियो। हरेक रात आफ्नो खुट्टामा आफैँ सुई खोप्नु पर्ने त्यो पीडादायी बाल्यकाल कस्तो थियो होलारु सिङ्गो देशको सपना आफ्नो काँधमा बोकेर हिँड्दा, लगातार फाइनल खेलहरू हार्दा, र आफ्नै देशका मानिसहरूले ‘तिमीले देशका लागि खेल्न सक्दैनौ’ भन्दै आलोचना गर्दा मेस्सीको मुटु कति पटक रोयो होला । रङ्गशालामा राष्ट्रिय गान बज्दा भुइँतिर हेरेर आँसु लुकाउने मेस्सीले यदि त्यतिबेलै हार मानेका भए, आज संसारले एउटा इतिहास पाउनुको साटो एउटा अधुरो सपना मात्र देख्ने थियो।
अर्कोतर्फ क्रिस्टियानो रोनाल्डोलाई हेरौँ। गरिबीको त्यो पराकाष्ठा झेल्नु पर्यो। १५ वर्षको उमेरमा मुटुको शल्यक्रिया गर्नुपर्दा उनको फुटबल करियर सुरु हुनुअघि नै सकिन सक्थ्यो। तर उनी रोकिएनन्। आज पिता गुमाएको वर्षौँ भइसक्दा पनि, करियरको उत्तरार्धमा चौतर्फी आलोचना र अपमान खेप्नु पर्दा पनि, उनी हरेक बिहान सबैभन्दा पहिले ट्रेनिङ ग्राउन्डमा पुग्छन्। किनरु किनकि उनको संघर्ष कुनै ट्रफीका लागि मात्र थिएन, त्यो त आफैँसँगको लडाइँ थियो।
यसपटक स्पेनले जित्यो। तर स्पेनको त्यो टोलीमा भएका हरेक युवा खेलाडीको आफ्नै एउटा नभनिएको कथा छ। कोही सानो उमेरमै परिवार छोडेर ट्रेनिङ क्याम्पमा रोएर रात बिताएकाहरू छन्, त कोही गम्भीर चोटका कारण महिनौँ बैशाखीको सहारामा बसेर पुनरागमन गरेकाहरू छन्।
हाम्रो जीवन पनि त एउटा विश्वकप नै रहेछ।
हामी पनि दिनहुँ आफ्नै मैदानमा संघर्ष गरिरहेका छौँ। कतिपय अवस्थामा हामीलाई लाग्छ कि अब सबैथोक सकियो। मेरो मिहिनेत कसैले देख्दैन, मेरो आँसुको कुनै मूल्य छैन। तर यी खेलाडीहरूको जीवनले हामीलाई सिकाउँछ’तिमी कति पटक लड्यौ, त्यसले फरक पार्दैनस तिमी लडेर कति पटक उठ्यौ, त्यसले तिम्रो भविष्य तय गर्छ।’
सफलता सजिलै पाइँदैन। यदि पाइन्थ्यो भने यसको कुनै मूल्य हुने थिएन। जब जीवनले तिमीलाई घुँडा टेक्न बाध्य पार्छ, जब चारैतिरबाट आलोचना र निराशाले घेर्छ, तब मेस्सीको त्यो दृढता र रोनाल्डोको त्यो पागलपनजस्तो मिहिनेतलाई सम्झिनु।
विजेता त्यो होइन जसले कहिल्यै गल्ती गरेन वा जो कहिल्यै हारेन। विजेता त त्यो हो, जसको आँखामा आँसु भए पनि, मुटुमा पीडा भए पनि, पाइलाहरू थाकेका भए पनि, भित्री आत्माले भन्छूअझै एक पटक प्रयास गर्छु, म यत्तिकै हार मान्ने छैन ।
यो विश्वकपले स्पेनलाई ट्रफी दियो होला, तर संसारलाई एउटा जीवन्त सन्देश दिएको छ ‘तपाईंको संघर्ष जति गहिरो हुनेछ, तपाईंको सफलताको कथा त्यति नै प्रेरणादायी र सुन्दर हुनेछ।’
















