पोखरा । कास्कीमा लुकेर रहेका नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले ‘कास्की आइडल सिजन–२’ आयोजना हुने भएको छ । आयोजक सान्झ क्रियसन्स प्रालिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक आदर्श पोखरेलले प्रतियोगिताको उद्देश्य तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराएका थिए । उनका अनुसार प्रतियोगितामार्फत नयाँ प्रतिभाको खोजी तथा पहिचान गर्दै उनीहरूलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ । विशेषगरी गायन तथा नृत्य क्षेत्रमा प्रतिभाशाली व्यक्तिहरूलाई प्रोत्साहन गर्ने आयोजकको लक्ष्य छ ।

प्रतियोगिताले प्रतिभाशाली गायक–गायिका तथा नृत्यकारलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर दिनुका साथै नेपाली सङ्गीत तथा सांस्कृतिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासमा योगदान पुर्‍याउने आयोजकले जनाएको छ । युवालाई सिर्जनात्मक तथा सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने र प्रतियोगिताका माध्यमबाट प्रतिभावान् कलाकारलाई गायन, अभिनय तथा नृत्यलगायतका क्षेत्रमा अघि बढ्न आवश्यक अवसर तथा प्रेरणा प्रदान गर्ने उद्देश्यसमेत राखिएको छ ।

कार्यक्रममा १५ लाख २५ हजार आम्दानी हुने र १४ लाख ३० हजार खर्च भइ ९५ हजार बचत हुने अनुमान गरिएको उनले खुलाए । बचत रकम लुकेका प्रतिभा गीत र म्युजिक भिडियो लगायतमा अवसर प्रदान गरिने उनको भनाइ छ । प्रतियोगिताको उद्‌घाटन भदौ २७ गते गरिनेछ । प्रतियोगितामा कुल छ राउन्ड रहने छ । इच्छुकले भदौ २७ गतेसम्म बिहान सम्म सम्पर्क गर्न सक्ने उनले बताए ।

संयोजक पोखरेलका अनुसार विभिन्न चरणका छनोट तथा ‘एलिमिनेसन राउन्ड’ सञ्चालन गरिनेछ भने ग्रान्ड फिनाले कार्तिक १४ गते सभागृह हलमा आयोजना गरिनेछ । गायन र नृत्य दुवै तर्फ प्रथम हुनेले ६० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले ४० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र तथा तृतीय हुनेले २० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट १० मा पर्न सफललाई प्रोत्साहन सहित राष्ट्रिय गीतमा मौका दिइने उनले प्रष्ट पारे । 

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अध्यक्ष झलक कुमार गुरुङले पहिलो संस्करणबाट प्राप्त अनुभवका आधारमा दोस्रो संस्करण आयोजना गर्न लागिएको बताए । उनले कास्की तथा आसपासका क्षेत्रमा ओझेलमा परेका प्रतिभालाई बाहिर ल्याएर स्थापित गराउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।

प्रतियोगितामा हुने भोटिङका विषयमा पनि अध्यक्ष गुरुङले प्रतियोगीलाई अनावश्यक दबाब नदिइने दाबी गरे । ‘प्रतियोगीलाई भोटका लागि प्रेसर दिइने छैन, प्रतिभाका आधारमा उत्कृष्ट छनोट गर्ने वातावरण बनाइनेछ,’ उनले भने । स्वस्थ प्रतिष्पर्धा गराएर अब्बल कलाकार जन्माउने लक्ष्य रहेको र त्यसमानै फोकस गर्ने बताए ।

पत्रकार सम्मेलनमा गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष तथा प्राज्ञ अनुराग अधिकारीले प्रतियोगिताको सफलताको शुभकामना दिँदै नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने यस्ता कार्यक्रम आवश्यक रहेको बताए । आफू रहेको ठाउँबाट संस्थागत सहयोगका लागि समेत पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै वैज्ञानिक तथा कलाकार डा. निरञ्जन कोइरालाले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा अझ व्यापक सहभागिता हुने अपेक्षा व्यक्त गरे । प्रतियोगिताले नयाँ कलाकारलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो ।

प्रतियोगितामा गायनतर्फ खेम लामा, करण तामाङ, सुजित क्षेत्री, उषा गुरुङ र प्रशान्त तामाङ निर्णायक रहनेछन् । नृत्यतर्फ उपेन्द्र गुरुङ, पुष्कर श्रेष्ठ, सुजित गुरुङ, पूजा गुरुङ, कविता पौडेल, दीपक परियार र सरिता दानकुटी निर्णायक रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मूल्यांकनमा निर्णायकको ४० प्रतिशत, भोटिङको ४० प्रतिशत र दर्शकको २० प्रतिशत अंकभार रहने गरी कुल १०० अंकमा मूल्यांकन गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनको सञ्चालन अनुपमा अधिकारीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0