पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । संघको ३६औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार गौतमले निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेललाई ११४ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।
गौतमले ७५१ मत प्राप्त गर्दा पोखरेलले ६३७ मत प्राप्त गरे । अध्यक्षका अन्य प्रत्यासी उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत प्राप्त गरे ।
गौतमको निर्वाचितसँगै पोखराकै जेठो तथा निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष बनेकी छन् ।
संघमा कुल २ हजार ७३१ सदस्य मतदाता रहेकामा अध्यक्ष तथा पदाधिकारीका लागि २ हजार २७४ मत खसेको थियो । सोमबार साँझ सार्वजनिक गरिएको अन्तिम मतपरिणामले गौतमलाई संघको नयाँ नेतृत्वमा स्थापित गरेको हो ।
अध्यक्षका प्रत्यासी गौतम र आचार्यले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा गौतमको प्यानलबाट उपाध्यक्ष (उद्योग) पदमा सौगात थापा निर्वाचित भएका छन् ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (उद्योग) मा सौगात थापा, उपाध्यक्ष (वाणिज्य) मा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भएका छन् ।
१० खुला सदस्यमा दुर्गा बराल, अमृत पोख्रेल, निर्मला चापागाईं, मनोहरि पौडेल, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भएका छन् ।
त्यस्तै, चार वस्तुगत सदस्यमा केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल निर्वाचित भएका छन् । एक औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।
निर्वाचन समिति संयोजक दामु अधिकारीका अनुसार संघको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
शोभा गौतमको नेतृत्वसँगै पोखरा उद्योग वाणिज्य संघले पहिलोपटक महिला नेतृत्व पाएको छ । यसलाई संघको संस्थागत इतिहासमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यको सपथ सोमबार नै भएको छ ।
मत परिणाम घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य सहित निवर्तमान अध्यक्ष गोकर्ण कार्की लगायतले बोलेका थिए भने कार्यक्रम सञ्चालन निर्वाचन समितिका सह संयोजक टिकाराम सापकोटाले गरेका थिए ।
















