पोखरा । हालैको प्राकृतिक प्रकोपबाट प्रभावित भएका कलाकार तथा सर्वसाधारणको राहत एवं पुनर्वस्थापनाका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग रकम संकलन गरी केन्द्रीय समितिमा पठाएको छ।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान गण्डकीका अध्यक्ष माया गुरुङले प्राकृतिक विपत्तिमा परेका पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरी केन्द्रीय कार्यसमितिको खातामा जम्मा गरिएको जानकारी दिइन्।
गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा परेको प्राकृतिक प्रकोपका कारण थुप्रै कलाकार तथा आम नागरिक प्रभावित भएका थिए। प्रकोप प्रभावितहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि प्रतिष्ठानको केन्द्रीय कार्यसमितिसँग ऐक्यबद्धता जनाउँदै गण्डकी प्रदेश समिति र यस मातहतका जिल्ला कार्यसमितिहरूले संयुक्त रूपमा सहयोग अभियान सञ्चालन गरेका थिए।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार संकलित कूल रकम रु १ लाख ५१ हजार १ सय ५१ मा गण्डकी प्रदेश समितिसहित विभिन्न जिल्ला कार्यसमितिहरू र सहयोगीहरूको योगदान रहेको छ।
जस अनुसार प्रतिष्ठान गण्डकी प्रदेश समितिबाट ६० हजार ४ सय २६, जिल्ला कार्यसमिति तनहुँबाट २५ हजार, जिल्ला कार्यसमिति नवलपुरबाट ११ हजार ६ सय १५, जिल्ला कार्यसमिति गोर्खाबाट १० हजार १ सय १०, जिल्ला कार्यसमिति कास्कीबाट १० हजार, जिल्ला कार्यसमिति बागलुङबाट ८ हजार, जिल्ला कार्यसमिति म्याग्दीबाट ७ हजार, जिल्ला कार्यसमिति लमजुङबाट ५ हजार ५सय, जिल्ला कार्यसमिति स्याङ्जाबाट ५ हजार र जिल्ला कार्यसमिति पर्वतबाट ५ हजार रुपैयाँ प्राप्त भएको अध्यक्ष गुरुङको भनाइ छ । यसका अलावा अन्य सहयोगीहरूबाट ३ हजार ५ सय रुपैयाँ संकलन भएको थियो ।
अध्यक्ष माया गुरुङ र कार्यवाहक सचिव टेक क्षेत्रीले देशले भोगेको यस कठिन घडीमा मानवीय र सामाजिक सेवाको अभियानमा हातेमालो गर्ने सम्पूर्ण जिल्ला समिति, पदाधिकारी, शुभेच्छुक तथा सहयोगी दाताहरूप्रति आभार व्यक्त गरेका छन् ।
प्रतिष्ठानले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलीका साथै शोकप्रन्त परिवारजनमा संवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। लोक कला र संस्कृतिको संरक्षणसँगै सामाजिक एवं मानवीय सेवामा निरन्तर लागिपर्ने प्रतिबद्धता प्रतिष्ठानले दोहोर्याएको छ।
















