पोखरा । जन्मदिनलाई भोजभतेर र रमाइलोमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यसहित सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीकी प्रथम उपाध्यक्ष तथा पोखरा महानगर नगर युवा परिषद्की कार्यकारी सदस्य विष्णु सुवेदीले आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्य गरेकी छन्।

गत कार्तिक ३ गते परेको आफ्नो जन्मदिनका अवसरमा सुवेदीले बुढीबजार–खराने सडकखण्डको बीचमा रहेका रेलिङमा राखिएका गमला स्ट्यान्डमा विभिन्न फूल तथा बिरुवा रोपेकी हुन्। उनले विभिन्न आकारका गमलामा फूल र अन्य बिरुवा रोपेर सडकको सौन्दर्य अभिवृद्धि गर्ने तथा वातावरण संरक्षणप्रति नागरिकलाई सचेत गराउने प्रयास गरेकी छन्।

जन्मदिनमा केही फरक र समाजका लागि उपयोगी काम गर्ने सोचलाई निरन्तरता दिँदै यस्तो कार्य गरेको सुवेदीले बताएकी छन्। उनका अनुसार व्यक्तिगत खुसीलाई सामाजिक हितसँग जोड्न सके त्यसले समुदाय र वातावरणमा सकारात्मक योगदान पुर्‍याउन सक्छ।

‘मैले मात्रै गरेँ र गर्छु भन्ने होइन, तपाईं–हामी सबै मिलेर केही गरौँ,’ भन्ने सन्देश दिँदै उनले आफ्नो ठाउँ र क्षमताअनुसार सबैलाई सामाजिक कार्यमा सहभागी हुन आग्रह गरेकी छन्।

सहर तथा सार्वजनिक स्थानको सुन्दरता, स्थानीय संस्कार र पहिचानको संरक्षणसँगै पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न यस्ता साना प्रयासले पनि योगदान पुर्‍याउन सक्ने उनको भनाइ छ। प्रकृति र प्राणीबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नागरिक दायित्व र जिम्मेवारीबारे सिक्ने तथा सिकाउने संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

उनले आफू जहाँ भए पनि र जति सकिन्छ, त्यहीँबाट सकारात्मक कामको सुरुवात गर्न सबैलाई आह्वान गरेकी छन्। सार्वजनिक स्थललाई सफा, सुन्दर र हरियालीयुक्त बनाउन व्यक्तिगत पहलसँगै सामूहिक सहभागिता आवश्यक रहेको उनको सन्देश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0