पोखरा । हिन्दु धर्मावलम्बीहरूको आस्था र श्रद्धाको महिना साउन सुरु भएसँगै पोखरामा बोलबम यात्राको रौनक छाएको छ। साउन महिनाको पहिलो सोमबार गेरुवस्त्र धारण गरेका हजारौँ भक्तजन पोखरा–१ बगरस्थित गाईघाटमा जम्मा भई सेती नदीको पवित्र जल लिएर करिब ८ किलोमिटर पदयात्रा गर्दै बैदामस्थित केदारेश्वर महादेव मन्दिर पुगेका छन्।
भक्तजनले गाईघाटको १०८ धारामा स्नान गरी सेती नदीको जल, गाईको दूध र बेलपत्र बोकेर “बोलबम“ को जयघोष गर्दै भजन–कीर्तन तथा बाजागाजासहित नगर परिक्रमा गरेका थिए। र्याली बगर , न्युरोड, सिर्जनाचोक हुँदै फेवाताल किनारस्थित केदारेश्वर मन्दिर पुगेको थियो। मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्दै भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ पूजा–आराधना गरेका छन्।
केदारेश्वर महादेवमणि सेवाश्रम समितिका बोलबम कार्यक्रम संयोजक तथा विश्व हिन्दु महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर खरालका अनुसार समितिले विगत २५ वर्षदेखि श्रावण महिनाको प्रत्येक सोमबार बोलबम यात्रा आयोजना गर्दै आएको छ। उनका अनुसार पहाडी क्षेत्रमा बोलबम यात्राको सुरुआत पोखराबाट भएको दाबी गर्दै २०५८ सालदेखि गाईघाटबाट जल ल्याई केदारेश्वर मन्दिरमा जलार्पण गर्ने व्यवस्थापन समितिले गर्दै आएको हो।

संयोजक खरालले पछिल्ला वर्षहरूमा यातायातको सहज पहुँच र दैनिक कार्यव्यस्तताका कारण खाली खुट्टाले पदयात्रा गर्ने भक्तजनको सङ्ख्या केही घटेको बताए। तर गाईघाटबाटै पवित्र जल बोकेर पदयात्रा गर्दै शिवलिङ्गमा जल चढाउनुको धार्मिक महत्व विशेष रहेको उनको भनाइ छ।
बोलबम यात्रामा कास्कीसहित आसपासका जिल्ला तथा छिमेकी मुलुकबाट आएका श्रद्धालुको समेत उल्लेखनीय सहभागिता देखिएको थियो। कतिपय भक्तजनले सम्पूर्ण ८ किलोमिटर दूरी खाली खुट्टाले पार गर्दै आफ्नो आस्था प्रकट गरेका थिए।
सहभागी भक्तजनका अनुसार साउन महिनामा भगवान शिवको उपासना गरी पवित्र नदी, कुण्ड वा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। पछिल्ला वर्षहरूमा बोलबम यात्रा धार्मिक अनुष्ठानसँगै सांस्कृतिक पर्वका रूपमा पनि स्थापित हुँदै गएको छ।
समितिले पहिलो सोमबार सहभागी हुन नपाएकाहरूलाई बाँकी सोमबार पनि बोलबम यात्रामा सहभागी हुन आग्रह गरेको छ। यस वर्ष श्रावण महिनामा ४, ११, १८ र २५ गते सोमबार परेकाले ती सबै दिन विशेष बोलबम यात्रा तथा जलार्पण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
















