पोखरा । पोखरा महानगरपालिका–१९ स्थित पात्ले युवा क्लबको चौथो साधारण सभा तथा बडादशैँ, दीपावली, नेपाल संवत्, छठ र ईदलगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ।
पोखरा महानगरपालिका वडा नं.१९ का जनप्रतिनिधि विकासकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम क्लबका अध्यक्ष विष्णुप्रसाद गौतम ‘कमल’को अध्यक्षतामा भएको हो।
कार्यक्रममा अध्यक्ष गौतमले क्लबको एक वर्षको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी, कोषाध्यक्ष अस्मिता गौतमले क्लबको आर्थिक अवस्था तथा आर्थिक प्रगति विवरण प्रस्तुत गरिन् ।
कार्यक्रममा नेकपा एमालेका युवा नेता एवं क्लबका सल्लाहकार विकास गौतम, नेपाली कांग्रेस पोखरा–१९ का सभापति एवं क्लबका सल्लाहकार विष्णुप्रसाद बास्तोला तथा नेकपा एमाले पोखरा महानगर कमिटीका उपसचिव विष्णुप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले युवा क्लबहरू सामाजिक एकता, आपसी सद्भाव, भाइचारा र सामुदायिक विकासका महत्त्वपूर्ण आधार भएको बताए । उनीहरुले विभिन्न चाडपर्वका अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले समुदायबीचको सम्बन्ध सुमधुर बनाउनुका साथै सामाजिक सद्भाव र सहकार्य अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।
स्थानीय युवालाई सामाजिक गतिविधिमा सक्रिय बनाउने, सामुदायिक सम्बन्ध सुदृढ गर्ने तथा विभिन्न जातजाति, धर्म र संस्कृतिबीच आपसी सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ। कार्यक्रमको सञ्चालन क्लबका सचिव श्रीकुमार गौतमले गरेका थिए ।















