पोखरा । फेवाताल संरक्षण अभियानअन्तर्गत जलारी दिदीबहिनी समूहको आयोजनामा फेवाताल सफाइ अभियान सम्पन्न भएको छ । पोखरा–६ स्थित खपौंदी ताल किनारमा आइतबार आयोजित सफाइ अभियानमा प्लास्टिकजन्य फोहोरसँगै जलकुम्भी झारसमेत संकलन गरिएको थियो।

जलारी दिदीबहिनी समूहले हरेक महिनाको तेस्रो आइतबार सञ्चालन गर्दै आएको अभियानअन्तर्गत यो पटक खपौंदी प्रतीक्षालयदेखि ल्यान्डिङ जोनसम्मको ताल किनारमा सरसफाइ गरिएको हो। अभियानमा जलारी समुदाय, स्थानीय आमा समूह, महिला सञ्जाल, पोखरा महानगरपालिकाको सरसफाइ शाखा, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख करुणा कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बोल्दै कार्कीले निरन्तरको सरसफाइ अभियानका कारण फेवातालमा फैलिएको जलकुम्भी झार व्यवस्थापनमा उल्लेख्य सुधार आएको बताइन्। उनका अनुसार गत आर्थिक वर्ष डिभिजन वन कार्यालय कास्कीले फेवाताल सरसफाइ तथा जलकुम्भी व्यवस्थापनका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

उक्त बजेटबाट गरिएको कामसमेत प्रभावकारी देखिएको भन्दै उनले अहिले तालको मुहान क्षेत्रमा जलकुम्भी न्यून मात्रामा देखिने गरेको र फेवातालको सौन्दर्यमा समेत सुधार आएको उल्लेख गरिन्। अभियान प्रभावकारी देखिएको भन्दै फेवातालको दिगो संरक्षणका लागि आगामी दिनमा समेत आवश्यक पहल गर्ने उनको प्रतिवद्धता थियो ।

जलारी दिदीबहिनी समूहकी अध्यक्ष मिना जलारीले समूहको पहलमा फेवाताल सफाइ अभियान पाँचौँ पटक सञ्चालन गरिएको जानकारी दिइन्। उनले अभियानलाई निरन्तरता दिन वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलको विशेष पहल र प्रेरणा महत्वपूर्ण रहेको बताइन्।

कार्यक्रममा महिला सञ्जाल पोखरा–६, बगलादी आमा समूह, मितेरी आमा समूह, पोखरा महानगरपालिका सरसफाइ शाखा, वडा नं ६ की जनप्रतिनिधि शोभा जलारी, फेवातालमा आश्रित जलारी समुदाय, हर्पन मत्स्य सहकारीलगायतको सहभागिता थियो।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले फेवाताल संरक्षणका लागि तीनवटै तहका सरकार, सुरक्षा निकाय, सरोकारवाला निकाय, नागरिक समाज, पर्यटन व्यवसायी तथा सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताए।

उनले तालको नियमित सरसफाइसँगै फेवाताल वरपरका बस्ती तथा पर्यटकबाट उत्पादन हुने फोहोरमैला उचित ढंगले व्यवस्थापन गर्न सके तत्काल देखिएका प्रमुख समस्या समाधान गर्न सकिने बताए। फेवाताल सफा राख्न सरसफाइ अभियान मात्र पर्याप्त नहुने भन्दै उनले ताल वरपरका बस्ती र पर्यटकीय क्षेत्रबाट निस्कने फोहोरको दीर्घकालीन तथा व्यवस्थित व्यवस्थापन आवश्यक रहेको औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0