पोखरा । फेवातालमा पर्यटक तथा यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै डुङ्गा चालकहरूको मादक पदार्थ सेवन मापसे तथा लागुऔषध सेवन लापसे परीक्षण गरिएको छ। परीक्षणका क्रममा गाँजा तथा मादपदार्थ सेवन गरेको पुष्टि भएका तीन जना डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की तथा फेवा डुङ्गा व्यवसायी संघको संयुक्त आयोजनामा आइतबार बिहान पोखरा महानगरपालिका–६ अन्तर्गत फेवातालका विभिन्न घाटमा डुङ्गा चालकहरूको मापसे र लापसे परीक्षण गरिएको हो।
प्रहरीका अनुसार ३२ जना डुङ्गा चालकको परीक्षण गर्दा एक महिला र दुई पुरुष गरी तीन जनाले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएको छ। उनीहरूलाई वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले फेवातालमा सुरक्षित जलयात्रा सुनिश्चित गर्न नियमित रूपमा मापसे र लापसे परीक्षण गर्दै आइएको बताए। उनले डुङ्गा चालकले मादक पदार्थ वा लागुऔषध सेवन गरेर डुङ्गा चलाउन नपाउने, यात्रुलाई अनिवार्य रूपमा लाइफ ज्याकेट उपलब्ध गराउनुपर्ने तथा पोखराको मौसमको अवस्थाअनुसार डुङ्गा सञ्चालन गर्नुपर्ने मापदण्ड कडाइका साथ लागू गरिएको जानकारी दिए। उनका अनुसार प्रहरीले डुङ्गा व्यवसायीहरूले यी मापदण्ड पूर्ण रूपमा पालना गरेका छन् वा छैनन् भन्ने विषयमा नियमित अनुगमनसमेत गर्दै आएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले फेवातालमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त रूपमा अनुगमन र परीक्षण अभियान सञ्चालन गरिएको बताए। मापसे तथा लापसे गरेर डुङ्गा चलाइएको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न नियमित निगरानीलाई प्रभावकारी बनाइएको उनको भनाइ छ। उनले निरन्तर अनुगमनका कारण लापरवाही गरेर डुङ्गा चलाउने प्रवृत्तिमा कमी आएको दाबी गर्दै फेवातालमा हुने दुर्घटनालाई शून्यमा झार्ने लक्ष्यसहित अभियानलाई अझ प्रभावकारी बनाइने बताए।
फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले प्रशासनले तोकेको सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्दै डुङ्गा सञ्चालन भइरहेको बताए। हावाहुरी वा छाल बढी भएका बेला डुङ्गा सञ्चालन रोक्ने तथा सामान्य अवस्थामा पनि साँझ ६ बजेपछि सेवा बन्द गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए। उनका अनुसार यात्रुको सुरक्षाका लागि सबै डुङ्गामा लाइफ ज्याकेट र बीमाको व्यवस्था गरिएको छ। साथै प्रत्येक घाटमा कम्प्युटर प्रणालीमार्फत सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारीसमेत भइरहेको उनले बताए।
प्रहरीले पर्यटक तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै मापसे–लापसे परीक्षण, सुरक्षा अनुगमन र सचेतनामूलक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।
















