पोखरा । विपद्मा परेका नागरिकको पीडामा साथ दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), पृथ्वीनारायण क्याम्पसले सञ्चालन गरेको राहत अभियानअन्तर्गत संकलित अत्यावश्यक सामग्री बाढी प्रभावित परिवारसम्म प्रत्यक्ष रूपमा पुर्याइएको छ।
स्ववियु अध्यक्ष विष्णु पोखरेलको नेतृत्वमा नुवाकोट र रसुवा पुगेको टोलीले बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरेको हो।
टोलीले देवीघाट, त्रिशूली, बेत्रावती र ग्यार्खुटारलगायतका क्षेत्रमा पुगेर बाढी प्रभावित परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री हस्तान्तरण गरेको स्ववियुले जनाएको छ। आवश्यकताअनुसार केही सामग्री स्थानीय सरकारमार्फत समेत हस्तान्तरण गरिएको थियो।
राहत वितरणपछि स्ववियु अध्यक्ष पोखरेलले विपद्को पीडा पूर्ण रूपमा मेटाउन नसके पनि पीडितको दुःखमा साथ दिनु मानवीय दायित्व भएको बताए ।
“पीडाको क्षणलाई हामीले पूर्ण रूपमा मेटाउन त पक्कै सक्दैनौँ। तर उहाँहरूको पीडाको घडीमा छेउमा उभियौँ, सहयोगको सानो प्रयास गर्यौँ। विश्वास छ, यस्तै प्रकारको साथले उहाँहरूको जीवनमा निराशाबीच आशाको किरण जन्माउनेछ,” उनले भने।
पृथ्वीनारायण क्याम्पस परिवार, विद्यार्थी तथा स्ववियुका पदाधिकारी र सदस्यहरूको सहयोगमा राहत सामग्री संकलन गरिएको थियो। संकलित सामग्रीमध्ये अधिकांश प्रत्यक्ष रूपमा प्रभावित परिवारको हातमा पुर्याइएको र स्थानीयस्तरमा आवश्यक देखिएका सामग्री मागअनुसार स्थानीय सरकारलाई हस्तान्तरण गरिएको स्ववियुले जनाएको छ।
अभियानमा सहयोग गर्ने क्याम्पस परिवार, विद्यार्थी, पदाधिकारी तथा सदस्यहरूप्रति अध्यक्ष पोखरेलले आभार व्यक्त गरेका थिए ।
विपद्का बेला सहयोगको मात्रा ठूलो वा सानोभन्दा पनि पीडितको आँसु पुछ्न अघि बढेको एउटा हात महत्वपूर्ण हुने सन्देशसहित स्ववियुले सञ्चालन गरेको राहत अभियानले विद्यार्थी संगठन सामाजिक उत्तरदायित्वमा समेत सक्रिय हुन सक्ने उदाहरण प्रस्तुत गरेको छ।















