पाेखरा । लोक कवि अली मियाँको १९ औँ स्मृति दिवस पोखरामा मनाइएको छ । पोखरा ११ फूलबारीमा रहेको भानु प्रतिमा स्थल भानूपार्कमा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानको आयोजना र भानु वाङ्मय प्रतिष्ठान तथा भानु मार्ग टोल विकास संस्था ‘क’ सँगको सहकार्यमा फूलरोपण र सम्मान कार्यक्रम गरिएको हो ।

 नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त्तको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथि सरुभक्तले नेपाली लोक सङ्गीतको क्षेत्रमा अली मियाँले पुर्‍याएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्यले आफ्नो वडामा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गरे । कार्यक्रमलाई निरन्तर आयोजना गर्न आग्रह गर्दै उनले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हरिदेवी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का विखर्ची, प्रा.डा. कुसुमाकर न्यौपाने, समाजसेवी निर्मल कर्माचार्य, लोककवि अली मियाँका नाति  अफजल हुसेन मियाँ, स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला, भानु वाङ्गमय प्रतिष्ठानका सचिव अम्बिका प्रसाद आचार्य, प्रतिष्ठानका सहसचिव धर्मराज पौडेल लगायतले बोलेका थिए ।

 कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति समेत रहेका प्रतिष्ठानका सचिव पदमराज ढकालले अलिमियाँका गीत समेत सुनाएका थिए । सोही कार्यक्रममा लोककवि अली मियाँको परिवारको तर्फबाट हरिदेवी कोइराला, पदमराज ढकाल, फडिन्द्र अकिञ्चन, भरत आचार्य लगायतलाई सम्मान समेत अर्पण गरिएको थियो ।

 कार्यक्रमका सहभागीले पार्कमा फूलरोपण समेत गरे । लोककवि अली मियाँको जन्म १९७५ फाल्गुन १५ गते हाल पोखरा १३ को मियाँपाटनमा भएको हो । सरल भाषामा गहिरो भाव पोख्न खप्पिस लोककवि जीवनभर नेपाली गाउँबेंसीको भाका गाउँदै हिँडे । उनको २०६३ साउन १८ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0