पोखरा । पोखरा २८ ठूलाकोटमा वडा स्तरीय तेस्रो खुला तीज गीत प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम रोयल ट्रेकमा पर्ने कास्कीको रमणीय ठाउँ कालिकाको ठूलाकोटमा हुन लागेको हो ।
‘हामी जुट्छौ संस्कृति जगेर्ना सँगै पर्यटन प्रवर्द्धनमा’ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २८ कार्यालयको समन्वय र सहयोग रहेको छ । कार्यक्रम भव्य बनाउन वडा सदस्य डाल्डादेवी भुजेलको संयोजकत्वमा समिति समेत गठन भएको छ । कार्यक्रम भाद्र ६ शुक्रबार पोखरा २८ ठुलाकोट भैरवस्थानमा हुनेछ । लोकसंस्कृतिको जर्गेना, महिला सशक्तीकरण तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक तथा वडा सदस्य डाल्डादेवी भुजेलले जानकारी दिइन् । कार्यक्रमको तयारीमा तीव्रता दिइएको छ ।
संयोजक भुजेलले भदौ ५ गते बिहीबार सम्म टिम दर्ता गर्न सकिने बताएकी छन् । दर्ता निःशुल्क रहेको छ । गत वर्ष २४ टिम रहेकोमा यो वर्ष अझै बढ्ने उनको विश्वास रहेको छ ।

प्रतियोगितामा प्रथम हुने समुहले १५ हजार, द्वितीय हुने समुहले १० हजार , तृतीय हुने समुहले ७ हजार र सान्त्वना हुने समुहले ५ हजार रुपैयाँको साथमा प्रमाणपत्र हात पार्नेछन् । यसैगरी उत्कृष्ट वेशभूषा र उत्कृष्ट नृत्य तर्फको पुरस्कार २ हजार रुपैयाँ रहेको छ । सहभागी समूहलाई यातायात खर्चको समेत व्यवस्था गरिएको भुजेलले जानकारी दिइन् ।
महिला सञ्जाल पोखरा २८ को आयोजनामा हुने तीज गीत प्रतियोगिता २०८२ को थप आकर्षणमा डोरी तान्ने प्रतियोगिता र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ। पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले ऐतिहासिक भैरवस्थान ठूलाकोटलाई पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हरेक वर्ष तीज कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए । कार्यक्रमको तयारीलाई तिव्रता दिइएको उनको भनाइ छ ।
ठूलाकोटमा पुगेर मौलिक तीज संस्कृतिको संरक्षणमा सहभागी बन्न सबैमा उनले आग्रह गरेका छन् । पर्यटकीय गन्तव्यको रूपमा स्थापित ठूलाकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, गणेश, लमजुङ लगायतका हिमाल हेर्न सकिन्छ । कास्कीका सातवटा ताल, मादी गाउँपालिकाका सुन्दर दृश्य, मादी नदि, पोखरा तथा लेखनाथका दृश्य सहित कास्की जिल्लाका अधिकांश ठाउँलाई यहाँबाट एकसाथ नियाल्न सकिन्छ । वि.सं. २०३७ सालमा बेलायतका राजकुमार चाल्सले पदयात्रा गरेपछि यो ठाउँको चर्चा ह्वात्तै बढेको थियो।











