पोखरा । पोखरामा प्रत्येक वर्ष हुँदै आएको तायाः मचा नृत्य प्रतियोगिता यसवर्ष पोखरा ३० शिशुवामा हुने भएको छ । नेवा खल कास्कीको आह्वान तथा नेवाः खलः शिशुवाको आयोजनामा श्रावण ३१ गते शनिबार कास्की जिल्लास्तरीय तायाः मचा नृत्य प्रतियोगिता हुने शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत  दिइएको हो । कला संस्कृतिको संरक्षण भावी पुस्तालाई हस्तान्तरण भन्ने मूल नाराका साथ कृष्ण जन्माष्टमीको अवसर पारेर साविक लेखनाथमा पहिलोपटक प्रतियोगिता गर्न लागिएको  मूल आयोजक समिति संयोजक अर्जुन कुमार ताम्राकारले  जानकारी दिए । 

प्रतियोगितामा यसवर्ष ३५ टिमको सहभागिता रहने जनाईएको छ । प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै तायाः मचा समुहहरूलाई प्रतिष्पर्धा गर्ने छन् । तायाः मचा नृत्य प्रतियोगिता २०८२ मा पुरुषतर्फ प्रथम हुने समुहले एक लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ र चौथो हुनेले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । 

संयोजक ताम्राकारका अनुसार महिलातर्फ भने प्रथम, द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः ४० हजार, ३० हजार, २५ हजार र २० हजार प्राप्त गर्ने छन् । यसबाहेक सहभागी जनाउने प्रत्येक टिमलाई १५ हजार रुपैयाँ प्रदान गरिने जनाईएको छ । प्रतियोगताका लागि आवश्यक नीति, नियम र सर्तहरूको पालना गर्न सबै कचाः खलःहरुको सहमतिमा आवश्यक गृहकार्य भइरहेको जनाईएको छ ।  

शनिबार आयोजित पत्रकार सम्मेलनमा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले तायाः मचा कास्कीमा मात्रै सीमित रहेको भन्दै व्यापक प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याए । तायाः मचाको माध्यमबाट पोखराको पर्यटन विकासमा समेत सहयोग पुग्ने अध्यक्ष पालिखेको भनाई छ । यसवर्ष प्रतिस्पर्धी समुहको सङ्ख्या बढेको पाइएको छ । अध्यक्ष पालिखेका अनुसार गतवर्ष प्रतिस्पर्धी २८ टोली र २ टोली सहभागी गरि कुल ३० टिम रहेकोमा यसवर्ष उक्त सङ्ख्या बढेर ३५ पुगेको हो ।

 पत्रकार सम्मेलनमा पोखरा ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, वडा नं. १ का वडा अध्यक्ष सहारा प्रधानले बोलेका थिए । उनीहरूले प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।  यो प्रतियोगिता वर्षेनी पोखराका फरक फरक क्षेत्रमा हुँदै आएको छ । यसअघि पोखराको नयाँबजार, बिन्दवासीनी लगायत स्थानहरूमा प्रतियोगिता आयोजना गरिएको थियो । पत्रकार सम्मेलनको सञ्चालन सह-संयोजक भैरवलाल श्रेष्ठले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0