पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । बैठकको पार्टी स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटीका इन्चार्ज किरण गुरुङले उद्घाटन गरेका थिए । गुरुङले आगामी निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पार्टी निर्माणमा सल्लाहकारहरूको महत्वपूर्ण भूमिका रहने र त्यसका लागि हर तरहले लागिपर्न अनुरोध गरे। पार्टी सरकारमा रहेको बेला सकारात्मक उपलब्धीको प्रचार प्रसार सहित पार्टीलाई दिशा निर्देश गर्न उनको आग्रह थियो ।
गुरुङले पार्टीका कार्यकारी कमिटीका संरक्षकका रूपमा रहेका सल्लाहकारहरूको सृजनात्मक सुझावले पार्टीले कमजोरी हटाउँदै नयाँ उचाइ निर्माणमा सहयोगी हुने जिकिर गरे। नेता कार्यकर्ताको सबलीकरणमा र सरकारका अङ्गहरूको प्रभावकारितामा समेत सल्लाहकारहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । पार्टी विरुद्धका कुनै पनि प्रकारका आक्रमण र अतिवाद परास्त गर्न प्रष्ट योजना सहित कार्य सम्पादनमा उत्रन आग्रह गर्दै इन्चार्ज गुरुङले वास्तविक परिणाम निस्कने गरी हरेक तहका कार्यकर्ता लाग्नुपर्ने बताए।
बैठकमा प्रदेश कमिटीका सचिव धनन्जय दवाडी, उपसचिव मन्जु अधिकारी, सल्लाहकार परिषदका अध्यक्ष मोहन रेग्मी सहितले पार्टी नीति, कार्यक्रम र सल्लाहकारको भूमिका सन्दर्भमा मन्तव्य व्यक्त गरेका थिए । एमाले प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकार परिषदका सदस्यहरूलाई सपथ ग्रहण समेत गराइएको थियो ।