पोखरा । पुरानो घरको मौलिकता जोगाउँदै त्यसलाई व्यवसायसँग जोड्ने र युवालाई स्वदेशमै केही गर्न प्रेरित गर्ने सोचका साथ पोखरा–७ बुलौदीको उकालोमा सञ्चालनमा रहेको ‘माइ ओल्ड हाउस क्याफे एण्ड रेष्टुरेन्ट’ युवा पुस्ताको आकर्षणको केन्द्र बन्दै गएको छ । ढुंगा र माटोको गाह्रोबाट बनेको करिब ५० वर्ष पुरानो घरलाई मौलिक स्वरूपमै उपयोग गर्दै सञ्चालक किशोर सुवेदीले परम्परागत वातावरण, नेपाली स्वाद र आधुनिक कफी संस्कृतिलाई एकै ठाउँमा जोड्ने प्रयास गरेका छन् ।

सुवेदीकै जन्म भएको उक्त घरलाई व्यावसायिक प्रयोजनमा उपयोग गर्ने सोचसहित तीन वर्षअघि क्याफे सञ्चालनमा ल्याइएको हो । पुरानो घरको संरचना, त्यहाँ प्रयोग भएका सामग्री र विगतको झल्को दिने सजावटले क्याफेलाई अन्य आधुनिक रेस्टुरेन्टभन्दा फरक पहिचान दिएको सुवेदी बताउँछन् ।
‘पुरानो संरचनालाई जोगाएर त्यसैलाई व्यवसायसँग जोड्न सकिन्छ भन्ने सोचले क्याफे सञ्चालन गरेको हुँ,’ उनी भन्छन्, ‘यहाँ आउने युवाले पुरानो समयको वातावरण मन पराएको पाएको छु ।’

करिब ४० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको क्याफेमा घर तथा उनका बुबाले व्यापार गर्दा प्रयोग गरेका पुराना सामग्रीलाई सजावटका रूपमा पुनः प्रयोग गरिएको छ । पुराना रेडियो, क्यामेरा, टेलिभिजनलगायत सामग्रीले क्याफेमा विगतको झल्को दिने वातावरण सिर्जना गरेका छन् । पुरानो संरचनाको मर्मतसम्भार गरेर मौलिकता जोगाउने प्रयास गरिएको सुवेदीको भनाइ छ ।
पुरानो वातावरणमा कफीको स्वाद
आधुनिक जीवनशैली र कफी संस्कृतिप्रति आकर्षित युवा पुस्तालाई पुरानो घरको फरक अनुभूति दिनु क्याफेको विशेषता हो । ढुंगा र माटोको गाह्रोबाट बनेको संरचनाभित्र प्रवेश गर्दा छुट्टै अनुभूति हुने र सकारात्मक ऊर्जा मिल्ने गरेको सुवेदी बताउँछन् ।
क्याफेमा युवाहरू भेला भएर कुराकानी गर्ने, समय बिताउने तथा आफ्ना अनुभव साटासाट गर्ने गर्छन् । पुरानो समयको झल्को दिने वातावरण अर्थात् ‘ओल्ड भाइब्स’ युवा पुस्ताले रुचाएको उनको अनुभव छ ।

कफी पारखीलाई लक्षित गर्दै क्याफेले दशैं–तिहारको अवसरमा ९९ रुपैयाँमा कफी उपलब्ध गराउने योजना ल्याएको छ । उक्त अफरअन्तर्गत हट बेभरेज बिहान १० बजेसम्म उपलब्ध हुने सुवेदीले जानकारी दिए । बिहानको सुरुवात स्वादिष्ट कफी र आफूले खोजेको शान्त वातावरणमा गर्न चाहनेहरूलाई लक्षित गरी योजना ल्याइएको उनको भनाइ छ ।
क्याफेमा कफीका अतिरिक्त परौठा, कोदोको रोटी, मोहीलगायत परम्परागत नेपाली परिकार पनि उपलब्ध छन् । हट बेभरेज र कोल्ड बेभरेजका विभिन्न विकल्पसमेत यहाँ पाइन्छन् ।
पोखराका तालको नाममा कोठा
क्याफेले व्यवसायसँगै पोखराको प्राकृतिक तथा सांस्कृतिक पहिचानको संरक्षणमा पनि योगदान पुर्याउने प्रयास गरेको छ । पोखरा र आसपासका तालहरूको महत्त्व र पहिचानलाई पुस्तान्तरण गर्ने उद्देश्यले क्याफेका आठवटा कोठालाई स्थानीय तालहरूको नाम दिइएको सुवेदी बताउँछन् ।

फेवा, बेगनास, रुपा, खास्टे, मैदी, दिपाङ, गुँदे र न्युरेनी तालका नामसँग जोडेर कोठाको पहिचान बनाइएको छ । यसले तालहरूको नाम र महत्त्वलाई मानिसमाझ परिचित गराउन सहयोग पुग्ने उनको अपेक्षा छ ।
‘हाम्रा तालहरूलाई जोगाउनुपर्छ र तिनको प्रचारप्रसार पनि गर्नुपर्छ । कोठामा तालका नाम राख्दा मानिसहरूले ती नाम सम्झिने, खोज्ने र तिनको महत्त्व बुझ्ने अवसर पाउँछन् भन्ने अपेक्षा छ,’ सुवेदी भन्छन् ।
स्वदेशमै सम्भावना खोज्ने युवालाई प्रेरणा
विदेश जाने प्रवृत्तिबीच नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिनु पनि व्यवसाय सञ्चालन गर्नुको अर्को उद्देश्य रहेको सुवेदी बताउँछन् । आफ्नै ठाउँ, स्रोत र सम्भावनाको उपयोग गर्दै उद्यम गर्न सकिने उनको विश्वास छ ।
क्याफेमा हाल ६ जनाले रोजगारी पाएका छन् । व्यवसाय विस्तार गर्दै रोजगारीका थप अवसर सिर्जना गर्ने उद्देश्यले भविष्यमा यसको फ्रेन्चाइज सञ्चालन गर्ने योजना बनाइएको उनले सुनाए ।
‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सोच युवामा विकास होस् भन्ने चाहना छ । व्यवसाय विस्तार गर्न सके थप रोजगारीका अवसरसमेत सिर्जना गर्न सकिन्छ,’ उनी भन्छन् ।

कफीसँगै साहित्यिक जमघट
माइ ओल्ड हाउस क्याफे कफी र खानाका लागि मात्र नभई भेटघाट, छलफल र सिर्जनात्मक गतिविधिका लागि पनि उपयोग हुँदै आएको छ । यहाँ बैठक तथा छलफल गर्न मिल्ने ठाउँ रहेको छ भने बेलाबेलामा साहित्यिक कार्यक्रमसमेत आयोजना हुने गरेका छन् ।
पुरानो संरचना, नेपाली परिकार, कफीको स्वाद र फरक वातावरणको संयोजनले क्याफेलाई विशिष्ट बनाएको सुवेदीको बुझाइ छ । हालसम्म ग्राहकबाट माया र साथ पाइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि मौलिकता जोगाउँदै व्यवसायलाई विस्तार गर्ने योजना सुनाएका छन् ।
















