रूपा । नेपाली काङ्ग्रेस रूपा गाउँपालिका वडा नं. ३ र ४ को संयुक्त आयोजनामा विजयादशमी, शुभदीपावली, नेपाल संवत् ११४७, छठ तथा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा प्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. ३ का सभापति भरतबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्री जीवन परियार प्रमुख अतिथि तथा नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का क्षेत्रीय सभापति सरोज केसी विशेष अतिथिका रूपमा सहभागी थिए ।
प्रमुख अतिथि परियारले नेपाली काङ्ग्रेसको आन्तरिक निर्वाचनमा हार–जितलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्ने बताए। केन्द्रीय उपसभापति पदमा थोरै मतान्तरले पराजित भए पनि आफूले कार्यकर्ताको माया र विश्वास जितेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि पार्टीमा सक्रिय रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। निर्वाचनको प्रतिस्पर्धालाई त्यहीँ सीमित राखेर अब पार्टी सङ्गठन र मुलुकको समृद्धिका लागि एकजुट भएर लाग्न उनले आग्रह गरे।
विशेष अतिथि क्षेत्रीय सभापति सरोज केसीले युवा तथा नयाँ पुस्तालाई स्वदेशमै आफ्नो क्षमता र प्रतिभा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले प्रतिस्पर्धा र नियमसम्मत प्रक्रियाका आधारमा हरेक क्षेत्रमा काम गर्ने संस्कार विकास गर्नुपर्ने बताउँदै सुशासन, अवसरको समानता र जनउत्तरदायित्वका विषयमा कांग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं ट्रेड युनियन तनहुँ अध्यक्ष श्रमिक नेता कृष्ण केसी ‘नागिला’, महाधिवेशन प्रतिनिधिहरू नारायणकुमार श्रेष्ठ, गीमाया गुरुङ, मानेन्द्र कमाल र खेमबहादुर गुरुङ, रूपा गाउँपालिका सभापति विमलबाबु न्यौपाने, नेता नवराज ओझा, पोखरा महानगरपालिकाका निवर्तमान सचिव टुबराज बास्तोला, भुला केसी, लक्ष्मी शाही, इन्दिरा कुमाल, विनोद छिमाल, गेहेन्द्र कोइराला, कृष्ण नेपाल, गोपालशरण रेग्मी, राजनसेन ठकुरी, कमल ओझा, मुमबहादुर शाही, शिवेन्द्रकुमार श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन रणबहादुर भुजेलले गरे।
शुभकामना आदानप्रदानसँगै महाधिवेशन प्रतिनिधिहरूलाई सम्मान गरिएको कार्यक्रमले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी सद्भाव, सहकार्य र सङ्गठनात्मक एकताको सन्देश दिएको बताइएकाे छ।















