पोखरा । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रा.ली र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा सुरु भएको बेलुन महोत्सव अङ्ग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिनसम्म चल्नेछ ।
महोत्सवमा नेपाल सहित स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अस्ट्रेलिया, अमेरिका, अस्ट्रिया, कोरिया, इटली, युके, लाओस, जर्मनी, भारत, दुबई, नेदरल्यान्ड, थाइल्यान्ड, बेल्जियम लगायत देशका हट एयर पाइलटहरूले बेलुन उडाइरहेका छन् । पछिल्लो समय पोखराको पर्यटनमा नयाँ आयामका रूपमा एयर बेलुन स्थापित हुँदै गइरहेको छ ।
पोखरा महानगरपालिका वडा नं.२३ र २४ मा पर्ने फेवा फाँटअन्तर्गत लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रमा हट एयर बेलुनको उडान हुनेछ । महोत्सव अवधिभर दैनिक बिहान र साँझ गरी पोखराको आकाशमा १७ वटा आकर्षक बेलुनहरू उड्नेछन् । पाँच हजार फिट माथिसम्म उडान गर्ने बेलुनहरू करिब ४० मिनेट आकाशमा हुनेछन् ।
महोत्सवमा हट एअर बेलुनबाट पाँच हजार मिटरसम्म उडान भरेर अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला, फेवाताल, पोखरा बजारको अवलोकन गर्न सकिने गरी एकैपटक विभिन्न रङ्गका १७ वटा बेलुन उडान हुने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए ।
आन्तरिक तथा विदेशी पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले आयोजना भएको महोत्सवमा हरेक दिन साङ्गीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेलसमेत हुने आयोजकले बताएका छन् । महोत्सवमा १५ वटा देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरू सहभागी भएका पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
२०१८ देखि बेलुन नेपालले पोखरामा व्यावसायिक हट एअर बेलुन उडान भर्दै आएको बेलुन नेपालका सञ्चालक सविन महर्जनले बताए । बेलुन नेपालले नियमित तीन वटा हट एअर बेलुनमा व्यावसायिक उडान गर्दै आएको छ । बेलुनमा उडानका लागि नेपालीलाई प्रतिव्यक्ति ११ हजार, सार्क देशका पर्यटकलाई एक सय २० डलर र अन्य देशका पर्यटकलाई एक सय ५० डलर शुल्क लाग्ने आयोजको भनाइ छ ।