पोखरा । पुस्तक पसल केवल किताब किनबेच गर्ने ठाउँ होइन, सहरको बौद्धिक रुचि, पठन संस्कृति र बदलिँदो सामाजिक चेतना बुझ्ने एउटा महत्त्वपूर्ण आधार पनि हो। पाठकले कुन विषयका किताब खोजिरहेका छन्, कुन विधाप्रति आकर्षित भइरहेका छन् र कुन किताब बिक्री भइरहेका छन् भन्ने कुराले सहरको अध्ययन संस्कृतिबारे संकेत गर्छ। पोखरामा पुस्तक व्यवसाय गर्दै आएका व्यवसायीको अनुभवले पनि पठन संस्कृतिमा परिवर्तन आइरहेको देखाउँछ।
दशैँ–तिहारको फुर्सदलाई लक्षित गरी हिमालय रिडर्स कर्नरले विशेष छुटसहित आयोजना गरेको नवौं संस्करणको १५ दिने रिडर्स मेलामा पुराना पाठकको उपस्थिति सन्तोषजनक रहे पनि अपेक्षाअनुसार नयाँ पाठक थप्न नसकिएको सञ्चालक विजय भण्डारीको अनुभव छ। धेरै किताब किन्ने ग्राहकलाई थप छुटको व्यवस्था गरिएको मेलामा किताबको बिक्री राम्रै रहे पनि विगतमा जस्तो छुटकै आकर्षणमा हतारिँदै किताब किन्ने वातावरण भने नदेखिएको उनी बताउँछन्।
उनका अनुसार यसअघि दशैँलाई लक्षित गरेर नेपाली साहित्यका चर्चित तथा राम्रा पुस्तक बजारमा आउने गर्थे। तर यस वर्ष त्यस्तो उत्साहजनक उपस्थिति नदेखिएको उनको भनाइ छ। नयाँ पुस्तकको उपलब्धता र छनोटमा आएको परिवर्तनले पनि मेलाको आकर्षण तथा बिक्रीमा प्रभाव पारेको हुन सक्ने उनको अनुमान छ।
नवौँ संस्करणसम्म आइपुग्दा मेलामा हजारौँ मानिस सहभागी भइसकेका छन्। दशैँको फुर्सदलाई सदुपयोग गर्दै पुस्तक किन्ने र पढ्ने पाठकको उपस्थिति रहनुले पठन संस्कृतिको आधार अझै कायम रहेको उनको अनुभव छ। यद्यपि, छुट दिँदैमा पुस्तक बिक्री उल्लेख्य रूपमा बढ्ने अवस्था नरहेको उनी बताउँछन्।
नयाँ पाठक थपिन नसक्नुको कारण पाठकको रोजाइअनुसारका पुस्तक उपलब्ध नहुनु हो वा अहिलेको पुस्तामा पुस्तक किनेर पढ्ने प्रवृत्ति कम हुँदै गएको हो भन्ने निष्कर्षमा पुग्न नसकिएको उनले सुनाए। यसमा समग्र देशको परिस्थिति, बदलिँदो रुचि र अन्य माध्यमबाट अध्ययन गर्ने प्रवृत्तिलगायत पक्षको भूमिका हुन सक्ने उनको बुझाइ छ।

पुस्तक पसलमा पाठकको रुचि सधैँ एउटै विधामा सीमित रहँदैन। व्यवसायीको अनुभवमा कुनै समय नेपालीमा अनुवाद गरिएका पुस्तकको बिक्री बढी हुन्थ्यो। त्यसपछि आत्मकथाप्रति आकर्षण बढ्यो। क्रमशः गैरआख्यानतर्फ पाठकको रुचि विस्तार भयो भने अहिले विश्व साहित्यका पुस्तकप्रति आकर्षण देखिन थालेको छ।
यो परिवर्तनले पाठकले खोज्ने विषयवस्तु र अध्ययनको दायरा फराकिलो हुँदै गएको संकेत गर्छ। साहित्यिक आख्यानसँगै वास्तविक जीवनका अनुभव, विचार, समाज, इतिहास तथा विभिन्न विषयमाथिका गैरआख्यान पढ्ने पाठकको उपस्थिति पुस्तक बजारमा देखिन थालेको छ। विश्व साहित्यप्रतिको रुचिले पनि पाठकले आफ्नो भाषिक र भौगोलिक परिवेशभन्दा बाहिरका विचार तथा अनुभवसँग जोडिन खोजिरहेको संकेत गर्छ।
सञ्चालक भण्डारीका अनुसार अहिले सरल प्रकृतिका पुस्तकभन्दा बौद्धिक पुस्तक बढी बिक्री भइरहेको अनुभव छ। यद्यपि, यो अनुभव पुस्तक पसलमा आउने ग्राहक र बिक्रीको प्रवृत्तिमा आधारित हो। यसैलाई आधार बनाएर समग्र पोखराका सबै पाठकको रुचि एउटै दिशामा बदलिएको निष्कर्ष निकाल्न भने पर्याप्त हुँदैन।
तर पुस्तक पसलमा देखिने यस्तो परिवर्तनले पाठकको रुचि स्थिर नभई समयसँगै फेरिइरहेको तथ्यलाई उजागर गर्छ। कुन विधाका पुस्तक बजारमा आउँछन्, पाठकले के खोज्छन् र कुन विषयले उनीहरूलाई आकर्षित गर्छ भन्ने कुराले पुस्तक व्यवसायको दिशा निर्धारण गरिरहेको छ।
पोखराको पालिखेचोकबाट सुरु भएको रिडर्स कर्नर न्युरोड हुँदै अहिले लेकसाइडमा रिडर्स क्याफेका रूपमा सञ्चालन भइरहेको छ। लेकसाइडमा पनि ग्राहकको आवागमन बढिरहेको व्यवसायी बताउँछन्। पठन संस्कृतिसँगै व्यवसाय विस्तार गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
उनका लागि पुस्तक पसलको विस्तार केवल व्यावसायिक गतिविधि मात्र होइन, पाठकसँग निरन्तर जोडिने माध्यम पनि हो। पुस्तक पसलले बजारमा जे माग हुन्छ, त्यसअनुसार पुस्तक उपलब्ध गराउने काम गर्छ। तर त्यही मागको प्रकृति नियाल्दा सहरको रुचि कुन दिशातर्फ गइरहेको छ भन्ने बुझ्न सकिने उनको तर्क छ।
कुन पुस्तक खोजिन्छ, कुन विधाका पुस्तक बारम्बार बिक्री हुन्छन् र कुन विषयमा पाठकको चासो बढिरहेको छ भन्ने कुरा पुस्तक पसलबाट थाहा पाउन सकिन्छ। यस अर्थमा पुस्तक पसल बजारको माग पूरा गर्ने व्यवसाय मात्र नभई सहरको बौद्धिक गतिविधि नियाल्ने एउटा झ्याल पनि हो।
यद्यपि, पाठकको रुचिमा आएको परिवर्तनलाई पठन संस्कृतिको समग्र अवस्था ठान्न मिल्दैन। पुस्तक पसलमा पुस्तक किन्ने प्रवृत्ति घटेको अनुभव भए पनि मानिसले पुस्तकालय, डिजिटल माध्यम वा अन्य स्रोतबाट अध्ययन गरिरहेका हुन सक्छन्। त्यसैले पुस्तक बिक्रीको अवस्थाले मात्रै पठन संस्कृति खस्किएको अन्तिम निष्कर्ष दिन नसकिने उनको स्वीकारोक्ति छ।
पुस्तक मेलामा पुराना ग्राहकको उपस्थिति रहनु र कुरियरमार्फत देशका विभिन्न ठाउँ तथा विदेशसम्म पुस्तक पठाइनुले पुस्तकप्रतिको माग पूर्ण रूपमा हराएको छैन भन्ने देखाउँछ। तर पुरानै पाठकले किताब किनिरहनु र नयाँ पाठक थपिनु फरक विषय हुन्।
मेलामा पुराना ग्राहक आइरहे पनि अपेक्षाअनुसार नयाँ पाठक आकर्षित गर्न नसकिएको कारणबारे निश्चित निष्कर्ष निकाल्न नसकिए पनि पाठकको रुचिअनुसारका पुस्तक उपलब्ध गराउने विषय महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
पुस्तक बिक्री बढाउन छुटलाई मात्र मुख्य आधार बनाउनु पर्याप्त नहुने उनको अनुभव छ। पाठकले खोजेका पुस्तक बजारमा उपलब्ध हुनु, नयाँ पुस्तकप्रति आकर्षण सिर्जना हुनु र अध्ययनका लागि उपयुक्त वातावरण बन्नु पनि उत्तिकै आवश्यक छन्।
















