पोखरा । नेपालीका महान् चाडपर्वले राष्ट्रिय एकता, सांस्कृतिक सद्भाव र आपसी भाइचारा बलियो बनाउनुपर्नेमा नेकपा एमालेका सचिव खगराज अधिकारीले जोड दिएका छन्। नेकपा एमाले पोखरा महानगर कमिटीले विजयादशमी, दीपावली, छठ र नेपाल संवत्लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले यस्तो बताएका हुन्। उनले नेपाल भूराजनीतिक प्रभावसँगै आन्तरिक चुनौतीको सामना गरिरहेको बताए। देशको अस्तित्व जोगाउन सकिन्छ कि सकिँदैन भन्ने गम्भीर अवस्थामा नेपाल रहेको उनको भनाइ थियो।
एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले पोखराको विकासको जग एमालेले हालेको दाबी गरे। २०५४ सालमा कृष्ण थापाको कार्यकालमा विकासको जग बसेको र मानबहादुर जिसीको कार्यकालमा त्यसले उचाइ लिएको उनले बताए। समृद्ध पोखरा निर्माणका लागि एमाले स्पष्ट भिजनसहित अघि बढ्ने उनको भनाइ थियो। दशैँतिहारपछि निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए। आचार्यले पार्टीका अधिवेशन समयमै सम्पन्न गरी कार्यकर्ताको मनोबल बढाउने पनि बताए।
पोखराको शान्तिवनबाटिकानजिकै रहेको एमालेको जिल्ला पार्टी कार्यालय परिसरमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन सचिव सुशील बस्नेतले गरेका थिए।
















