पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ ।
माछापुच्छ्रे बैङ्कको मुख्य प्रायोजनमा पोखरा रङ्गशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिङ्गल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथि भेट्रान्स उमेर समुहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नवीन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजक समितिका उपाध्यक्ष समेत रहेका चालिसेका अनुसार प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लासहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङ लगायतका मुलुककरुबाट खेलाडीहरू पोखरा आउने छन् ।
ओपनतर्फ नेपालका शीर्ष वरियताका १ प्रदिप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पत्रकार सम्मेलनमा जनाए । मेन्स सिंगलमा ३१ खेलाडी, उमन्स सिंगलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२ खेलाडी, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित सय बढि खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै कास्की टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङले यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । टेनिस खेल जहाँ पनि खेल्न नमिल्ने र निश्चित कोर्टमा खेल्नुपर्ने भएकोले दर्शक सहभागिता तथा चासो कम हुने गरेको उनले सुनाए ।
नेपालका शीर्ष वरियताका खेलाडी प्रदिप खड्काले राज्यले टेनिस खेललाई हेर्ने नजर राम्रो नरहेको गुनासो गरे । महत्वपूर्ण प्रतियोगितामा विजयी हुँदा समेत राज्यले वास्ता नगरेको उनको भनाइ छ ।
प्रतियोगिता सम्पन्न गर्न २१ लाख भन्दा बढि खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिव ८ लाख खर्च हुने थापाले पत्रकार सम्मेलनमा बताए ।
ओपन तर्फ मेन्स तथा उमेन्स सिंगल्स विजेताले नगद ८० हजार उपविजेताले ४० हजार सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । मेन्स तथा उमेन्स डबल्स तर्फ विजेताले नगद ३० हजार उपविजेताले १५ हजार सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ३५ वर्ष माथिको सिंगल्स विजेताले नगद ६० हजार उपविजेताले ३० हजार सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ३५ वर्ष माथिको डबल्स विजेताले नगद २० हजार उपविजेताले १० हजार सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।
४५ वर्ष माथिको सिंगल्स विजेताले नगद ४० हजार उपविजेताले २० हजार सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको डबल्स विजेताले नगद २० हजार उपविजेताले १० हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्ने थापाले बताए । कार्यक्रम सञ्चालन गर्दै समितिका सचिव भीष्मराज पौडेलले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगहीरुलाई धन्यवाद ज्ञापन गरे । सो अवसरमा नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहासमा सबैभन्दा लामो समयसम्म निरन्तर रुपमा आयोजना भएको बताए ।