पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङ्गेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम–२०८१ मा भक्तजनको भिड बढ्दै लागेको छ । कोटीहोमको छैटौँ दिन स्थानीय आमा समूहको साथै रूपन्देही र स्याङ्जाबाट समेत भक्तजन आएको यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले भक्तजनको आगमनले उत्साहित बनाएको बताए । भक्तजनको आगमनले धाम निर्माणको परिकल्पना पुरा भएको छ, ऐतिहासिक धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने सपना पुरा हुँदैछ’ उनले भने ।
यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरूषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्देश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको पाँच वर्षमा धाम विश्वको आकर्षक गन्तव्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए । शनिबार सोही स्थानमा निर्माण सम्पन्न भएको शिवालय मन्दिरको उद्घाटन, शवदहन स्थल (सेती नदी) जाने बाटो (सिँढी)को शिलान्यास र शिव मन्दिर प्रवेश गर्ने मूलद्वारको शिलान्यास भएको थियो ।
यस्तै शुक्रबार महतगौँडा र टुटुङ्गालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हरिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको शिलान्यास गरिएको थियो । यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए । मंसिर २७ गतेसम्म कोटिहोम सञ्चालन हुने छ ।