पोखरा । पोखरामा नवौँ संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको सुरु भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित महोत्सवको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले पर्वतीय सङ्ग्रहालय पर्वतीय क्षेत्रको बारेमा जानकारी लिन चाहने सबैको लागि एउटा पाठशाला भएको बताए । पर्वतीय क्षेत्रका हरेक वस्तुस्थितिको बारेमा सङ्ग्रहालयको अवलोकन पश्चात जानकारी प्राप्त हुने उनको भनाइ थियो । यसले गण्डकी प्रदेश सहित नेपालको पहिचान झल्काउने भन्दै अन्तराष्ट्रिय क्षेत्रमा समेत नेपाललाई परिचित गराउने बाम गरेको बताए ।
जलवायु परिवर्तनका कारण पर्वतीय पर्यटनका असर परिरहेको मुख्यमन्त्री पाण्डेले बताए । गण्डकी प्रदेश भित्र रहेका पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकको लागि आकर्षण थप्न गण्डकी प्रदेश सरकारले काम गरिरहेको बताए । हामीले नगरेको गल्तिको सजाय भोग्नु परेको भन्दै उनले हिमालमा हिउँ नदेखिनु चिन्ताको विषय भएको सुनाए ।
मंसिर २७ गतेसम्म चल्ने महोत्सवको अवलोकन निःशुल्क रुपमा गर्न पाइने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिएकी छन् । महोत्सवमा नेपालका हिमाली क्षेत्रका परेका परिवर्तनका असरहरूलाई महत्वका साथ उठान गरिनेछ । हिमाली क्षेत्रमा जनजीवन असहज भैरहेकोले त्यसलाई कसरी सहज बनाउदै जलवायु परिवर्तन हुने खालका गतिविधिलाई नियन्त्रण गर्दै जनजीवनलाई सहजीकरण गर्ने भन्ने विषयमा बौद्धिक खालको अन्तरक्रिया हुने कार्यकारी निर्देशक न्यौपानेको भनाइ छ ।
नेपाल पर्वतारोहण सङ्घ र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन् । पहिलो दिन पर्वतीय जीवन, अनुकूलन र भविष्यबारे अन्तरक्रिया कार्यक्रम र स्थानान्तरण भैरहने चराहरू सम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शन समेत भएको थियो ।
दोस्रो दिन पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरूले आफ्नो अभिमत राख्नेछन् । तेस्रो दिन डिसेम्बर ११ मा पहाडी क्षेत्रमा शौचालयको महत्वबारे सरोकारवालाको सहभागितामा अन्तरक्रिया हुनेछ । महोत्सवको चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे छलफल हुनेछ । अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरबारे विमर्श गरिनेछ । यसका अलावा सङ्ग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिने आयोजकको भनाइ छ ।