पोखरा, ७ मंसिर । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८३/०८४ को कात्तिक मसान्तसम्म निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले कात्तिक मसान्तसम्मको लक्ष्यको १०४ प्रतिशत राजस्व संकलन गरेको हो ।

कार्यालयलाई चालु आर्थिक वर्षमा ८ अर्ब ५४ करोड ८७ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिइएकोमा कात्तिक मसान्तसम्म २ अर्ब ३६ करोड ५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो अवधिका लागि निर्धारित लक्ष्य २ अर्ब २ करोड ३६ लाख ५२ हजार रुपैयाँ रहेकोमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

राजस्व संकलनतर्फ आयकरले महत्वपूर्ण योगदान दिएको छ । कात्तिक मसान्तसम्म आयकरतर्फ १ अर्ब २६ करोड ८२ लाख ४९ हजार रुपैयाँ संकलन भएको छ । यो निर्धारित लक्ष्यको १२९ प्रतिशत हो । त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ ५४ करोड ९० लाख ९६ हजार रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको ७८ प्रतिशत हो ।

यसैगरी अन्तःशुल्कतर्फ ९ करोड ९६ लाख ९९ हजार रुपैयाँ तथा अन्य शीर्षकमा ३ करोड २० लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तुलनामा यस वर्ष समग्र राजस्व संकलन २६ प्रतिशतले वृद्धि भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

यसैबीच, आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८३ विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । ‘कर न्याय र सुशासनको सुनिश्चितता स् समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नारासहित सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो ।

कर सप्ताहको समापन कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले राजस्व लक्ष्य प्राप्तिका लागि सम्बन्धित निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए । उनले करको दायरा विस्तार, करदाताको दायित्व पूरा गराउने, कर प्रशासनको दक्षता अभिवृद्धि गर्ने तथा आवश्यकताअनुसार दर र दण्ड जरिवानाको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

नागरिक तथा व्यवसायीले इमानदारीपूर्वक कर दायित्व पूरा गर्दा राज्यको आर्थिक आधार बलियो हुने उल्लेख गर्दै उनले करबाट प्राप्त राजस्व नै मुलुकको विकास, सार्वजनिक सेवा प्रवाह र समृद्धिको महत्वपूर्ण आधार भएको बताए।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले कर कानूनको पालना गर्दै राजस्व संकलनमा योगदान पुर्‍याउने करदाताप्रति आभार व्यक्त गरे । उनले कार्यालयबाट प्रदान गरिने सेवामा गुणात्मक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष श्री गुरुङलगायत व्यवसायी तथा उद्योगीका प्रतिनिधिहरूले कर प्रशासनलाई व्यवसायमैत्री बनाउनुपर्ने र राज्यले लगानी तथा व्यवसाय गर्ने वातावरण सुधार गर्न आवश्यक पहल गर्नुपर्ने धारणा राखेका थिए ।

कर सप्ताहका अवसरमा कार्यालयले सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा टेम्पल ट्री रिसोर्ट प्रालि, एक्सेस कन्स्ट्रक्सन प्रालि र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंसिर १ गते पोखरा सभागृहदेखि आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो । सोही दिन पहिलो व्यावसायिक स्थायी लेखा नम्बर प्यान लिने टिपटप रेष्टुरेन्टका सञ्चालक अन्जु लोप्चन न्यौपानेलाई सम्मान गरिएको थियो ।

त्यसैगरी लेखनाथ उद्योग वाणिज्य संघ, स्याङ्जा उद्योग वाणिज्य संघ तथा पोखरा उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीबीच करदाता शिक्षा, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

कर सप्ताहकै अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ एक्यान, कास्कीको टोली प्रथम र आन्तरिक राजस्व कार्यालय पोखराको टोली द्वितीय भएको थियो । प्रतियोगितामा भन्सार कार्यालय, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, अडिटर्स एसोसिएसन तथा कर सहयोगी श्रमिक संगठनलगायतका संस्थाको सहभागिता रहेको थियो ।

यसैगरी करको दायरामा नआएका तथा कर विवरण र राजस्व दाखिला गर्न बाँकी रहेका करदातालाई लक्षित गर्दै आर्थिक ऐन, २०८३ ले व्यवस्था गरेको कर छुट सुविधाबारे पनि सप्ताहका क्रममा विशेष प्रचारप्रसार गरिएको कार्यालयले जनाएको छ । कर छुट सुविधा उपयोग गर्ने अन्तिम म्याद आगामी पुस मसान्तसम्म रहेकाले समयमै सुविधा लिन प्रमुख कर अधिकृत ढुङ्गानाले करदातालाई आग्रह गरेका छन् ।

कास्की र स्याङ्जा जिल्लालाई कार्यक्षेत्र बनाएको आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा दर्ता भएका करदाताको संख्या ९० हजार पुगेको छ । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ १५ हजार १२०, अन्तःशुल्कतर्फ ५ हजार ५९६ तथा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या २ लाख ५२ हजार २५२ पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0