पोखरा ७ मंसिर ।  स्थानीय उत्पादनको प्रवर्द्धन, बजार विस्तार, उद्यमशीलताको विकास र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै २२औँ लेखनाथ महोत्सव आयोजना हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २ देखि १३ गतेसम्म पोखरा महानगरपालिका–२७, डाँडाकोनाक तालचोकमा महोत्सव सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवमा २ लाख ७० हजार दर्शक सहभागी हुने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ।

सङ्घकी अध्यक्ष जानुका पराजुलीले महोत्सवलाई मनोरञ्जन र व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी स्थानीय उत्पादनको बजारीकरण तथा उद्यमशीलता विकासको माध्यम बनाउन खोजिएको बताइन्। स्थानीय कृषि उपज, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्दै आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य रहेको उनको भनाइ छ।

विषम आर्थिक परिस्थितिका बीच महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि व्यवसायी तथा सर्वसाधारणको सहभागिताबाट स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। महोत्सवले क्रेता, बिक्रेता र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्दै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।
महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा सङ्घका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाइएको बताए। कृषि, पर्यटन, उद्योग, कला र संस्कृतिसँगै मनोरञ्जनका कार्यक्रमलाई समेटेर महोत्सवलाई लेखनाथ क्षेत्रको साझा उत्सवका रूपमा विकास गर्न खोजिएको उनले बताए।
प्रचारप्रसार उपसमितिका संयोजक भट्टराईका अनुसार महोत्सवमा कुल ३३५ वटा स्टल रहनेछन्। तीमध्ये अटोमोबाइल, कृषि तथा पशुजन्य वस्तु, किचन सामग्री, मेसिनरी, हस्तकला, जर्नल स्टल, गार्मेन्ट तथा रेडिमेड कपडा, फुटवेयर, फुड एन्ड बेभरेज, नेपाली उत्पादन, बैङ्क तथा वित्तीय संस्था र प्रायोजकका स्टल रहनेछन्।
महोत्सवमा  सुन्तला, माछा, मह, मौरी, कफी, ताजा तरकारी, जैविक विविधता तथा दुग्धजन्य उत्पादनको प्रदर्शनी र बिक्रीलाई विशेष प्राथमिकता दिइनेछ। कृषि, पर्यटन तथा उद्योग क्षेत्रसँग सम्बन्धित संवाद कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामग्री, दैनिक उपभोग्य तथा खाद्यान्न सामग्री, फेन्सी, कस्मेटिक, श्रृंगारका सामान, विद्युतीय उपकरण, फर्निचर, स्वास्थ्य, खेलकुद तथा सूचना प्रविधिसम्बन्धी सामग्रीको प्रदर्शनी पनि रहनेछ।

स्थानीय उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्न सङ्घका सदस्य व्यवसायीलाई आफ्नै स्टल राख्दा २० प्रतिशत छुट तथा सामान ढुवानीका लागि थप दुई हजार रुपैयाँ छुट उपलब्ध गराइने आयोजकले जनाएको छ। सदस्य व्यवसायीका लागि स्टल बुकिङमा विशेष प्राथमिकतासमेत दिइएको छ।

महोत्सवमा मनोरञ्जनका लागि विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रम समावेश गरिएका छन्। जातीय भेषभूषा तथा सांस्कृतिक झाँकी, फोकल तथा रत्यौली गीत, महिला विशेष कार्यक्रमअन्तर्गत रत्यौली गीत, विद्यालयस्तरीय नृत्य प्रतियोगिता र कवि शिरोमणिको सम्झनामा साहित्यिक कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी पप कन्सर्ट, लाइभ ब्यान्ड, राष्ट्रियस्तरका चर्चित कलाकारहरूको लोकदोहोरी तथा हास्यव्यङ्ग्य प्रस्तुति, टिकटक प्रतियोगिता र बृहत् साइकल ¥याली पनि महोत्सवका आकर्षण रहनेछन्।

महोत्सव स्थलमा गौतम बुद्धको प्रतिमा, खाना महोत्सव, बाल उद्यान तथा उत्कृष्ट स्टल पुरस्कारको व्यवस्था गरिनेछ। साथै सहज संगीततर्फ पप कन्सर्ट र लाइभ ब्यान्डका कार्यक्रमले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आयोजकको अपेक्षा छ।

कृषि, पर्यटन र उद्योग क्षेत्रबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले संवाद कार्यक्रम, शैक्षिक तथा ग्रामीण प्रविधिको प्रदर्शनी र स्थानीय कला संस्कृतिको संरक्षणसम्बन्धी गतिविधिलाई पनि महोत्सवमा समेटिएको छ।

महोत्सवका प्रमुख प्रायोजक एग्रो थाई फुड्स प्रालि (म्याक्स टाइगर इनर्जी ड्रिंक्स) का प्रतिनिधि तथा सङ्घका वरिष्ठ उपाध्यक्ष विक्रम कर्माचार्यले महोत्सवले स्थानीय व्यवसाय र उत्पादनको प्रवद्र्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। यस्ता कार्यक्रमले उद्यमी तथा व्यवसायीलाई बजारसँग जोड्नुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

आयोजकका अनुसार महोत्सवका लागि यस वर्ष विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र सांगीतिक कन्सर्टका लागि दुई सय रुपैयाँ प्रवेश टिकट दर निर्धारण गरिएको छ।

महोत्सवबाट १ करोड ५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च कटाएर करिब २० लाख रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ।

बचत रकम सात तालको संरक्षण तथा प्रवर्द्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गरिने आयोजकले जनाएको छ। सङ्घका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनको सञ्चालन सङ्घका महासचिव भरतराज ओझाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0