पोखरा । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना गर्ने पोखरा सडक महोत्सवको तयारी सुरु भएको छ । सोमबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार २६ औँ संस्करणको महोत्सव पौष १३ गते देखि १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले धेरै भन्दा धेरै कार्यक्रम सडकमानै पस्कने बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थल” को रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले “सडक मै खाउँ, सडक मै रमाऊँ” भन्ने उद्देश्यका साथ महोत्सव आयोजना हुने लागेको हो । अध्यक्ष पौडेलले महोत्सवबाट अनुमानित ९० लाख आम्दानी हुने र ७५ लाख खर्च हुने बताए । वर्षेनी १० देखि १५ लाख बचत गर्ने गरेको बताएका उनले झण्डै ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने दावी गरे ।
स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न महोत्सव गतिलो माध्यम बनेको महोत्सवका संयोजक विकास भट्टराईले बताए । महोत्सवको मुख्य आकर्षणको रुपमा विभिन्न जातजातिको लोपउन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनी, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट रहेको उनले बताए ।
यसैगरी खेलकुद तर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतना मूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरूको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने संयोजक भट्टराईको भनाइ छ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखरा महोत्सवमय हुन लागेको बताए । २४ तारिख देखि २७ तारिख सम्म इन्टरनेशनल बेलुन फेस्ट फेवा फाँटमा हुने र २८ बाट सडक महोत्सव लेकसाइडमा हुने र १ तारेखमा पुन: फेवा फाँटमा कार्यक्रम हुने खुलाए । यी कार्यक्रमले पोखराको पर्यटन चलायमान बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।