पोखरा । निजामती सेवा दिवसको अवसरमा कास्कीमा कार्यरत कार्यालय प्रमुखहरूको तर्फबाट बाल सुधार गृह कास्कीलाई ५५ इन्चको टेलिभिजन सहयोग गरिएको छ।
निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित कर्मचारी मिलन केन्द्रका अध्यक्ष लोकनाथ आचार्य, केन्द्रका सचिव तथा नापी अधिकृत प्रदीपकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला समन्वय अधिकारी नवराज बराल, प्रहरी निरीक्षक, विद्यालयका प्राचार्य, शिक्षक, विद्यार्थी तथा कर्मचारीको उपस्थितिमा टेलिभिजन हस्तान्तरण गरिएको हो।
बाल सुधार गृहमा रहेका बालबालिकाको मनोरञ्जनसँगै सूचना, ज्ञान तथा शैक्षिक सामग्रीमा पहुँच बढाउन सहयोग पुग्ने उद्देश्यले टेलिभिजन प्रदान गरिएको जनाइएको छ।
हाल बाल सुधार गृह कास्कीमा अदालतको फैसलापछि थुनामा रहेका ७० जना र पुर्पक्षका लागि थुनामा रहेका ३५ जना गरी १०५ जना बालबालिका रहेका छन्। उनीहरू १४ प्रकृतिका मुद्दामा थुनामा रहेका छन् भने १३ जिल्लाका बासिन्दा रहेको बताइएको छ।
उमेर समूहका आधारमा १८ वर्ष उमेर पूरा गरेका ४८ जना, १६ देखि १८ वर्ष उमेर समूहका ५० जना, १४ देखि १६ वर्षका ६ जना र १४ वर्षमुनिका एक जना रहेका छन्।

बाल सुधार गृहमा रहेका मध्ये सबैभन्दा धेरै जबरजस्ती करणीसम्बन्धी मुद्दाका ६० जना रहेका छन् भने कर्तव्य ज्यानसम्बन्धी मुद्दाका २१ जना छन्। बाँकी अन्य विभिन्न प्रकृतिका मुद्दामा थुनामा रहेको जनाइएको छ।
जिल्लागत विवरणअनुसार बाल सुधार गृहमा रहेका मध्ये तनहुँका २२ जना, स्याङ्जा र म्याग्दीका १६/१६ जना, कास्कीका १५ जना तथा नवलपुरका १२ जना रहेका छन्। बाँकी अन्य जिल्लाका बालबालिका रहेका छन्।
निजामती सेवा दिवसलाई केवल कर्मचारीको उत्सवका रूपमा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले व्यक्तिगत रहकम उठाएर बाल सुधार गृहलाई सहयोग गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले खुलाए । यस्तो सहयोगले सुधार गृहमा रहेका बालबालिकालाई सकारात्मक वातावरण निर्माण गर्न तथा शिक्षा र मनोरञ्जनका माध्यमबाट उनीहरूको मानसिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
















